म्याग्दी, पुस ६- म्याग्दीको धवलागिरि गाउँपालिका–४, नाउरा स्थित रणज्योति आधारभूत विद्यालयमा ३ कक्षासम्म पढाइ हुँदै आएको छ । भौगोलिक रूपमा दुर्गम त्यसमाथि छरिएको सानो नाउरा गाउँका बालबालिका यही विद्यालयमा अध्ययन गर्दै आएका छन् ।
नाउरा गाउँमा २० घरधुरी रहेका छन्। विद्यालय जाने तीन जना मात्र बालबालिका रहेका छन्। कक्षा १ मा पाँच वर्षीय एरिक घर्तीमगर, कक्षा २ मा सात वर्षीय एरिका घर्तीमगर र बालविकासमा युवान गर्बुजा नियमित विद्यालय आउने गरेका छन् । एरिक र एरिका दिदीभाइ हुन् ।
रेबिका घर्तीमगर २०७६ फागुन २३ गतेदेखि कार्यालय सहयोगीका रूपमा नियुक्ति भए पनि कार्यालय सहयोगीदेखि पढाउने र प्रअको प्रशासनिक कामसमेतको जिम्मेवारी उनको काँधमा छ । कक्षा १२ उत्तीर्ण गरेकी रेबिकाले १७ हजार २५० रुपियाँ मासिक रूपमा तलब पाउँदै आएकी छन् । दुई कक्षामा अध्ययनरत एरिकाले भनिन्, “म्याडमले राम्रो पढाउनु हुन्छ, हामी पनि नियमित विद्यालय आउने र गृहकार्य गर्ने गरेका छौँ ।”
मगरले भनिन्, “मेरो जिम्मेवारी कार्यालय सहयोगीको भए पनि स्थानीयवासीको आग्रहमा पढाउँदै आएकी छु । मेरो अध्यापनबाट सबै खुसी पनि हुनुहुन्छ।” यहाँ कक्षा ३ उत्तीर्ण गरेपछि पनि बालबालिका एक घण्टा पैदल हिँडेर खिबाङको चन्द्रज्योति माविमा पढ्न जानुपर्ने बाध्यता छ । अहिले गाउँमा धेरै बालबालिका नहुँदा विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । गत वर्ष छ विद्यार्थीले तीन कक्षा उत्तीर्ण गरेर अन्य विद्यालयमा पढ्न गएपछि घटेर तीन जना छन् ।
उनले भनिन्, “थोरै सङ्ख्या भएकाले बहुकक्षा शिक्षण प्रणालीमार्फत एउटै कक्षाकोठामा राखेर पढाउँदै आएकी छु । तीनै जना नियमित रूपमा विद्यालय आउने गरेका छन् । सानो गाउँ त्यसमाथि भौगोलिक कारण यहाँबाट अन्य विद्यालयमा पढ्न जानलाई पनि टाढा र जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले स्थानीयले पनि एक जना भए पनि पढाइदिनु भन्नुभएको छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।