पर्वत, असार ३१- पर्वतकाे कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको जीप दुर्घटनामा थप एक बालकको ज्यान गएकाे छ । योसँगै ज्यान गुमाउनेकाे सङ्ख्या दुई जना पुगेको छ ।
दुघर्टनामा परि गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको उपचारका क्रममा ज्यान गएकाे हाे । पोखरामा रहेकाे गण्डकी मेडिकल कलेजमा उपचारकाक्रममा बालकको ज्यान गएकाे पर्वत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, दुर्घटनामा परि सात वर्षीया बालिका शीतल विकको ज्यान गएकाे छ । पर्वतको कुश्मा बजारबाट दुर्लुङका लागि छुटेकाे ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनि भन्ने ठाउँमा दुर्घटना भएको हाे । दुर्घटनामा घाइते भएका अन्य १० जनाकाे उपचार भइरहेकाे छ ।
घाइतेमध्ये सात जनालाई पर्वतबाट उपचारका लागि पोखरा पठाइएको छ । कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्माको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी घाइतेको भने पर्वत अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परि घाइते भएकामध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेको छ ।
यात्रुवाहक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा गाडी दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।