काठमाडौं, बैशाख ३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की मुलपानी क्रिकेट मैदानको फोहोर व्यवस्थापनमा आफैं खटिएका छन् । आइतबार बिहान मेयर कार्कीको नेतृत्वमा मैदान र वरपरको स्थानको सरसफाइ भएको हो । कार्यक्रममा मेयर कार्कीसहित उपमेयर शान्ता थापा, वडा नम्बर ५ का अध्यक्ष शंकर पाण्डे, ६ का अध्यक्ष प्रकाश फुयाल, ७ का अध्यक्ष भीमसेन थापा, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, सामाजिक संघ-संस्था, रेडक्रस, नगरपालिकाको स्वास्थ्य शाखा, कर्मचारी, नगर प्रहरी, स्काउट, स्थानीय बासिन्दालगायत करिब ५ सयले फोहोर संकलन गरि व्यवस्थापन गरेका हुन् ।
मंगलबारबाट हुने एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप खेल खेलाउन तयार हुँदै गरेको क्रिकेट मैदान सरसफाइ कार्यक्रममा सहभागिता जनाउन नगरपालिकाले शनिबार सार्वजनिक रुपमा आह्वान गरेको थियो ।
मैदानमा बिहान ७:३० बजेदेखि नै झाडु, बेल्चा र थुन्से लिएर स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । मैदानमा भएको कार्यक्रमलाई सम्बोधन गरेर मेयर कार्की फोहोर टिप्न लागेका थिए । उनलाई उपस्थित सबैले साथ दिएका थिए । मैदानका चारैतिर फालिएका प्लाष्टिकका बोतल, सिसा, थोत्रा कपडा, बिस्कुटका खोल, चाउचाउको खोललगायतका फोहोर संकलन गरि व्यवस्थापन गरिएको हो ।
सरसफाई कार्यक्रममा मेयर कार्की, उपमेयर थापा, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कार्कीले एसिसी प्रिमियर कप राष्ट्रिय गौरवको बिषय भएको र पछिल्लो समय क्रिकेट खेलमा नेपालले अधिक सफलता हासिल गरेको भन्दै खेलाडीहरुलाई धन्यवाद दिएका थिए । एसिसी प्रिमियर कप सम्पन्न गर्न नगरपालिका र संघको साझा दाहित्व पनि भएको उनको भनाइ थियो । सम्बोधनमा उनले भने, ‘एसिसी प्रिमियर कपले मुलपानी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरकै मैदानको रुपमा परिचित गर्ने भएकाले यो नगरपालिकाकै प्रतिष्ठाको बिषय हो । अन्तर्राष्ट्रिय प्रतियोगिता मुलपानी मैदान गरिने कुरा अग्रज र आफुहरुको सपना पुरा गर्ने विन्दु हो । यस्ता अन्तर्राष्ट्रिय खेलकुद गतिविधिले नगरपालिकालाई खेलकूद नगरीको रुपमा विकास गर्न सहयोग पुग्नेछ ।’
मेयर कार्कीले राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गरेर आगामी बजेटमै पारेर नगरपालिकाभित्र बक्सिङको अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने कबर्ड हल, रग्बी खेल, फुटबल खेल र भलिबल खेल मैदान नगरपालिकाभित्र निर्माण गरिने जानकारी दिए । साथै उनले सरसफाइ कार्यकममा उपस्थित सबैलाई धन्यवाद दिँदै एसिसी प्रिमियर कप नगरपालिकाकै प्रतिष्ठाको बिषय भएकाले भब्य र सब्य रुपमा सम्पन्न गर्न सहयोग गर्न नगरबासीलाई आह्वानसमेत गरे ।
अन्तराष्ट्रिय खेलाडी आउँदा, खेल खेल्दा र विश्वका करिब २ सय देशमा प्रतक्ष प्रसारण हुने हुनाले मुलपानी क्रिकेट मैदान तथा नगरपालिकाले पहिचान बढाउन र गरिमा जोगाउन सम्पुर्ण नगरबासीले धैर्यता, संयमता, ब्यबस्थापन तथा पाहुनाको सत्कारमा कमि हुन दिन नदिन मेयर कार्कीले आग्रह गरे ।
कार्यक्रममा सम्बोधन गर्दै क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कप संचालन गर्न क्रिकेट संघको मात्र एकल प्रयासले सफल नभएको भन्दै नगरपालिकाको सहयोग प्रति खुसी व्यक्त गरेका थिए । उनले भने, ‘२० बर्षपछिको प्रयासमा हुन लागेको प्रतियोगिता संचालनमा नगरपालिकाले उत्साहका साथ यो प्रतियोगिता गर्नुस् । अगाडी बढ्नुस् । हामीले गर्नुपर्ने प्रतक्ष्य अप्रत्यक्ष सहयोग गर्न तयार छौ भन्नुभयो । राम्रो साथ पायौं । देशभरी क्रिकेट प्रति चासो राख्नेको संख्या बढ्दो छ । यो सिक्ने सिकाई पनि भएको छ । देशभरिका नगरपालिकाले सिक्नु र बुझ्नु पर्यो ।’
क्रिकेट खेल प्रति युवाहरुको आकर्षण बढ्दै गएकोले नेपालमा अझै ३०औँ बर्ष राज गर्ने उनको भनाइ छ । उनले नगरबासीको सहयोगको अपेक्षा पनि गरेका थिए ।
सरसफाई कार्यक्रम करिब ३ घण्टासम्म चलेको थियो ।
यता मैदान खेल्न योग्य भैसकेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।
मैदानमा बैशाख ५ गते पहिलो अन्तराष्ट्रिय खेलका रुपमा बैशाख ५ गते हङकङ र सिंगापुरबीचको खेल हुदैछ ।
जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
नेपालले पहिलो खेल मलेसियासँग वैशाख ५ मा त्रिवि मैदानमा खेल्नेछ । यस्तै दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ ।
मुलपानी मैदानमा एसीसी प्रिमियर कपको एक सेमिफाइनल समेत गरेर ११ खेल आयोजना हुदैछ ।
यो पनि पढ्नुहोस्- मुलपानी क्रिकेट मैदान सरसफाईमा सहभागिता जनाउन कागेश्वरी मनोहराको आह्वान