काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने राप्रपाको संसदीय दलका नेताहरुको बैठकमा बताएका छन् । बैठकमा पशुपतिशम्शेर जबरालगायतले प्रचण्डलाई विश्वासको मत दिन नहुने तर्क गर्न थालेपछि लिङदेनले यस्तो बताएका हुन् ।
‘उपप्रधानसहित ३ मन्त्रालय दिने कुरा भएको छ,’ उनले बैठकमा भनेका थिए, ‘उपप्रधानमन्त्री भएर म सरकारमा जान्छु, तपाईंहरु जेसुकै गर्नुहोस् ।’पछिल्लो समय लिङदेनलाई प्रधानमन्त्री हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अफर गरेको विषय बाहिर आइरहँदा लिङदेनले राप्रपा बैठकमा यस्तो बताएका हुन् । उनले आफूलाई अफर आएको स्पष्ट नभने पनि कांग्रेसले प्रस्ताव गरेको छनक दिएका थिए । तर, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले कुनै पनि पार्टीको अमुक नेतालाई यस्तो प्रस्ताव गर्दै नगरेको र यो अफवाह भएको बताएका छन् ।
राप्रपामा पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा सांसदहरुबीच मतभेद देखिएको छ । १४ सिटसहित सांसदमा रहेको राप्रपाका केही सांसदहरुले नयाँ गठबन्धन बनाएर अगाडि जानु पर्नेमा जोड दिएका छन् । यसअघि लिङदेनले प्रचण्डको नेतृत्वमा गृहमन्त्रीको आकांक्षा राखेका थिए । तर, उनलाई गृहमन्त्री नबनाएपछि उनले अर्को कुनै मन्त्रालय र उपप्रधानको माग गरेका छन् ।