काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कमिटीहरू भद्दा भएको भन्दै चुस्त र सक्रिय कमिटीहरू बनाउन निर्देशन दिएका छन् ।
प्युठान काठमाडौं सम्पर्क मञ्चले शनिवार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अहिलेका कमिटीहरू आसन ग्रहण गर्ने माध्यम मात्र बनेको बताए ।
अध्यक्ष ओलीले भने ‘नेताको काम आसन ग्रहण गर्ने होइन,जनता र कार्यकर्ताबीच जाने तथा उनीहरूलाई सक्रिय बनाउने हो । तर अहिले हाम्रो पार्टीका कमिटी लम्बेतान भए,जनताको र पार्टीको काम गर्ने होइन आसन ग्रहण गर्नका लागि मात्र बनाइएको जस्तो भयो ।
ओलीले एमालेको लागि अब संक्रमणकालीन समय सकिएर दोस्रो चरण शुरु भएको बताए । उनले निर्वाचनसँगै पार्टी र पार्टीका नेता कार्यकर्ताको भूमिका फेरिएको बताए ।
ओलीले भने-अहिलेसम्म हामी हाम्रो विरुद्ध भएका संगठित हमलाको प्रतिवाद गर्ने,प्रतिक्रियावादीसँग मुकाबिला गरेर अस्तित्व जगाउने चरणमा थियौँ । चुनावसँगै अब हाम्रो पार्टी थिग्रिएको छ । अब पार्टी कमिटीहरूलाई चुस्त बनाउने र जनतालाई सचेत गर्दै पार्टी बलियो बनाउने काममा लाग्नुपर्छ ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्युठानबाट नवनिर्वाचित सांसद सूर्य थापालगायतलाई सम्मानित गरिएको थियो ।