काठमाडौं, पुस ८- प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता समीकरणबारे आफू पक्षीय नेताहरूसँग छलफल गरेका छन् । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नछाडेपछि पार्टी सभापतिसमेत रहेका देउवाले शुक्रबार आफू निकट नेताहरूसँग निचोडमा पुग्न छलफल गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय दुई दिन बाँकी भएपछि देउवाले उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, क्याबिनेटका मन्त्रीहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमाकान्त चौधरी र महिला नेतृ डीला संग्रौलासँग भेट गरेका हुन् । राष्ट्रपति भण्डारीले पुस १० गते ५ बजेसम्मका लागि सरकारको नेतृत्वमा दाबी गर्न समय दिएकी छन् ।
देउवाले भावी रणनीति तय गर्न आफू पक्षीय नेताहरूसँग सम्बादमा जुटेका छन्। सहभागी नेताहरूले कुनै पनि हालतमा प्रधानमन्त्री पद नछाड्न देउलाई सुझाव दिएका छन् । ‘संसदको ठूलो दलको हैसियतले पनि कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ भनेर सभापतिज्युलाई सुझाव दिएका छौं । उहाँ आफ्नो अडानबाट पछि हट्नु हुन्न,’ सहभागी एक नेताले भने ।
शुक्रबार बिहान खुमलटार पुगेका नेता सिंहलाई प्रचण्डले जसरी पन प्रधानमन्त्री पद चाहिने र नपाए गठबन्धनबाट निस्किने धम्की दिएका थिए । त्यसलगत्तै सिंह प्रचण्डको सन्देश लिएर बालुवाटार पुगेका थिए ।