काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय नेकपा माओवादी केन्द्रले आफ्नो पहिचान गुमाउँदै गएको टिप्पणी गरेका छन् । उनले पार्टीको अलग पहिचान बनाउनतिर जोड दिनुपर्ने खाँचो औंल्याएका छन् । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको रणनीति, कार्यशैली र पार्टीमा बस्नेहरूको आचरण-व्यवहार यस्तो हुनुपर्छ भनेर ठोस रुपमा विकसित गर्न नसकेको प्रस्ट पारेका छन्।
‘माओवादी आन्दोलन अहिले आइडेन्टिटी क्राइसिसमा पर्न थालेको छ,’ उनले भने, ‘हिजो जसरी माओवादी भनेपछि टाढैबाट चिनिन्थ्यो, हाम्रो कपडा, हामीले खाने खाना, हाम्रा नीतिले छर्लङ्गै देखिन्थ्यो यो माओवादी हो भनेर ।’ जनतासँग घुलमिल हुने, सरल जीवन, कठोर मेहनत गर्ने, आफ्नो पार्टी, नेतालाई माया गर्ने त्यो आइडेन्टीटी हराउँदै अहिले आएर सबै दल उस्तै रहेछन् भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो ।
‘जनताले हेर्दा सबै उस्तै जस्तो भयो । सबैको बोली, व्यवहार उस्तै,’ उनले भने । आफ्नो पहिचान सुस्पष्ट गर्ने र एउटा परिधिमा रहेकामात्र यो संगठनमा बस्न पाउने व्यवस्था बनाउनुपर्ने उनले बताएका छन् । उनले प्रेस सेन्टरका पदाधिकारीलाई युनिक आइडेन्टीटी बनाउनेतिर छलफल, अध्ययन, चिन्तन गर्न पनि सुझाव दिए । मिडियामा आक्रामक ढंगले प्रस्तुत नहुने हो भने जनताले विकासका कुरालाई मात्र महत्व नदिने प्रचण्डको भनाइ थियो ।
उनले सोसल मिडियाका लागि डिजिटल आर्मी तयार गर्नुपर्ने खाँचो पनि औंल्याएका छन् । एक्सपर्टका साथसाथै सोसल मिडियामा विशाल फौज चाहिने उल्लेख गर्दै उनले माओवादी केन्द्रसँग भएको जनमत, कार्यकर्ता पंक्तिलाई यसमा प्रयोग गर्न सकिने प्रचण्डले बताए । नेपालको सामाजिक बनावटमा ठुलो परिवर्तन आइसकेको भन्दै उनले विदेशमा रहेका ५०–६० लाख मानिसलाई पनि सही ढंगले समेट्नुपर्ने खाँचो औंल्याएका छन् ।
अहिले देशको राजनीतिमा ‘नयाँ हावा’ चल्नुमा त्यो जनशक्तिको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । अर्को चुनावमा कुनै पनि दलसँग तालमेल नगरी जित्ने गरी संगठन बनाउनतिर लाग्नुपर्नेमा पनि अध्यक्ष प्रचण्डले जोड दिएका छन् ।