तेह्रथुम, मंसिर ३- पुर्वकै ऐतिहासिक आठराई दीपावली मेलाको भव्य उद्घाटन भएको छ । आठराई गाउँपालिका -५, छातेढुङ्गास्थीत पोखरी माध्यामिक विद्यालयको प्रांगणमा मंसिर २ गते मेलाको भव्यताका साथ उद्घाटन भएको हो । कार्यक्रमको उद्घाटन आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले गरेका हुन । उद्घाटन कार्यक्रममा विभिन्न जातजातीको संस्कृति झल्किने झाँकी समेत प्रस्तुतसमेत गरिएको थियो।
मंसिर ०२ गतेदेखि मंसिर ०८ गतेसम्म लाग्ने दिपावली मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने छ । वि.सं. २०३९ सालदेखि नियमित रुपमा लगाउँदै आइएको दीपावली मेलाले यसपाली पनि निरन्तरता पाएको हो । गत साल मंसिरमा भने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको कारण मेला संचालन हुन सकेको थिएन । भगवती कप तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल, नारायण र ईश्वरा संग्रौला समृति रनिङ कप पालिका स्तरीय खुल्ला पुरुष भलिबल र खुल्ला महिला भलिबल प्रतियोगिता संचालन हुदै छ ।
यस्तै, खुल्ला महिला फुटबल प्रतियोगिता अन्तर्गत महेन्द्र कन्दङवा स्मृति रनिङ कप, चेश प्रतियोगिता, व्यामिन्टन पुरुष तथा महिला र धान नाच प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार भगवती कप तथा पदम थापा कपको विजेता १ लाख ५० हजार र उप – विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छ, भने सेमिफाइनलबाट बाहिरिनेट टिमले २५ / २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै, नारायाण तथा ईश्वरा संग्रौला कपको प्रथमले नगद ८० हजार र द्धितियले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । खुल्ला महिला भलिबलतर्फको विजेतालाई ७० हजार र उप – विजेताले ४० हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ । महिला फुटबल खुल्ला महेन्द्र कन्दङवा स्मृति कपको विजेताले ८० हजार र उप – विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, चेश, ब्याडमिन्टन र धान नाच प्रतियोगिताको विजेता, उप – विजेतालाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले समितिले जानकारी दिएको छ ।