काठमाडौं, असोज १२- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा.हरि लम्सालले आन्दोलनरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र राहत शिक्षकसँग वार्ता गरेर सहमति निकाल्ने बताएका छन् ।
उनका अनुसार ईसीडी र राहत शिक्षकबीच आज वार्ता तय गरिएको छ । वार्ताका लागि मन्त्रालयले पत्र पठाइसकेको छ । लम्सालले भने, ‘शुक्रबार राहत र बालविकास शिक्षकका प्रतिनिधि बसेर संवाद गरेर सहमतिको निकास निकाल्छौँ ।’
बिहीबार शिक्षामन्त्री अशोक राईसहित आन्दोलनरत राहत शिक्षक र बालविकास शिक्षक प्रतिनिधिबीच सिंहदरबारमा अनौचारिक संवाद भएको थियो । राहत शिक्षक केन्द्रीय समितिले राहत शिक्षकको ४० हजार दरबन्दीमा हाल राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन दिनुपर्ने माग राखेको छ ।
बालविकास शिक्षकले सरकारले तलबको जिम्मेवारी लिनुपर्ने, बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याइनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, २० वर्षदेखि कार्यरतलाई स्वतः स्थायी प्रक्रियामा लैजानुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह ९१–५० शिक्षक सरह तलब हुनुपर्ने, आन्तरिक प्रतिस्पर्धामा फेल हुने विद्यार्थीलाई अनुदानको व्यवस्था हुनुपर्ने माग राखेको छ ।