काठमाडौं, असार २२- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभित्रका विभिन्न स्थानमा दिनदहाडै चोरी गर्ने एक जना पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ९ काँडाघारीबाट उमेश पदैवा नाम गरेका पुरुष पक्राउ परेका हुन् ।
बिहिबार दिउँसो काँडाघारीको सनसीटी नजिकै रहेको तामाकोसी फर्निचरमा चोरी गर्दा-गर्दै स्थानीयले पदैवालाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत तिनकुने पठाइएको काँडाघारी प्रहरी प्रभागका प्रमुख सुन्दर खड्काले हाम्रोसंचारलाई जानकारी दिए ।
पदैवासहित उनको टीममा अन्य २ जना रहेको र स्थानीयले समात्न खोजेपछि उनीहरु भागेको बताइएको छ । उनीहरुको समुहले घरका धाराका टुटीदेखि कोठाभित्र पसेर मोबाइल, पैसा, सुनका गहना चोर्ने गरेका थिए । पक्राउ परेका पदैवाको बारेमा थप बुझ्ने काम भैरहेको प्रहरी वृत तिनकुनेले जनाएको छ ।
चोरीमा संलग्न फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
दिनदहाडै चोरीका घटना बढ्न थालेपछि त्यस क्षेत्रका स्थानीयमा त्रास छाएको छ । पछिल्ला एकसातामा मात्र त्यस क्षेत्रमा चारवटा चोरीका घटना भएको पाइएको छ ।
चोरको विगविगी बढ्न थालेपछि स्थानीयले प्रहरी प्रशासनसंग सुरक्षाको माग गरेका छन् ।