दाङ, कात्तिक १८- दाङको घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफैले आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतीले बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन् ।
चिकित्सकले शुक्रबार बिहान ८ बजेको समय दिएको थियो । बिहान फेरि अस्पताल नै जानुपर्ने भएकाले उनीहरू घर फर्किएनन् ।
उनीहरू घोराही-१५ स्थित निरूको फुपुको घरमा गएका थिए ।
बिहीबार बेलुकी खाना खाएपछि उनीहरू सुत्न गएका थिए । श्रीमती निरुले राति नवीनको हातखुट्टा मालिस गरिदिने भनेर तेल पनि लगेका थिए ।
तर बिहान उनीहरू दुबै जना मृत फेला परेका हुन् । निरू एउटा कोठामा मृत फेला परेको र अर्को कोठामा नवीन झुण्डिएको अवस्थामा फेला परेको डिएसपी गौतमले जानकारी दिए ।
निरुको घाँटी थिचेर हत्या गरेपछि नवीनले अर्कै कोठामा गएर आत्महत्या गरेको खुलेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।