Hamro Sanchar

माओवादीले काठमाडौं-३ बाट कुलमान घिसिङलाई उम्मेदवार बनाउने

प्रकाशित : २०७९ भदौ, १५ गते


Advertisement

काठमाडौं, भदौ १४- माओवादी केन्द्रले काठमाडौं निर्वाचन क्षेत्र ३ बाट कुलमान घिसिङलाई उम्मेदवार बनाउने तयारी गरेको छ । केन्द्रीय सदस्य बद्री बजगाईंका अनुसार काठमाडौ ३ नम्बर क्षेत्रबाट घिसिङलाई उम्मेदवार बनाउने तयारी भइरहेको छ। संचारकर्मीसँग कुरा गर्दै सोही क्षेत्रका नेता बजगाईंले भने, ‘काठमाडौं ३ बाट कुलमान घिसिङलाई उम्मेदवार बनाउने तयारी भएको छ ।’

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले नै घिसिङसँग समन्वय गरिरहेका छन् । उनीहरू दुई जनाबीच भइरहेको संवाद पार्टीको तल्लो तहमा धेरै चुहिएको छैन । तर, प्रचण्डले उपत्यका कमिटीलाई शनिबार सम्बोधनमा भनेको नयाँ मान्छे तिनै कुलमान घिसिङ भएको पनि विश्लेषण भइरहेको छ ।

आउँदो १८ भदौभित्र घिसिङको चुनाव उठ्ने विषयमा टुंगो लाग्ने पनि बताइएको छ । माओवादीस्रोतका अनुसार प्रचण्डले घिसिङलाई काठमाडौं ३ बाट उम्मेदवार बनाउन राजी भइसकेका भए पनि घिसिङले थप निर्णय भने दिइसकेका छैनन् । स्रोतका अनुसार घिसिङले चुनावपछि पार्टी सरकारमा गएको अवस्थमा उर्जा, सिँचाई तथा जलस्रोतमन्त्री बनाउनुपर्ने सर्त राखेका छन् । त्यसमा प्रचण्ड भने सकरात्मक भइसकेका छन् । सोहीकारण १८ भदौभित्र घिसिङको विषय टुंगो लाग्ने बताइएको हो ।

रामेछाप स्थायी घर भएका घिसिङले काठमाडौं ३ रोज्नुमा उनको आफ्नो प्रभाव क्षेत्रको रूपमा पनि लिइएको छ । तुलनात्मक रूपमा माओवादीको राम्रो पकड रहेको यो क्षेत्रमा माओवादीका प्रभावशाली नेता थिएनन् । मजदुर नेता गणेश रेग्मी विवादास्पद भई भ्रष्टाचारको मुद्दामा परेपछि उनी राजनीतिबाट पलायन हुने स्थितिमा पुगेका छन् ।

यो क्षेत्रका इमानदार मानिएका नेता बद्री बजगाईं पार्टी विभाजनमा मोहन वैद्यसँग लागेका कारण यो क्षेत्रमा माओवादीको गतिलो नेता नभएको टिप्पणी भएको थियो ।


प्रतिकृया दिनुहोस्