काठमाडौं, भदौ १२- सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा शनिबार राति परेको वर्षापछि आएको बाढीले सडक बगाएको छ ।
मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ को सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीका वडा नम्बर ६ र ७ का बासिन्दा प्रभावित भएका छन् ।
सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको छ ।
शनिबार मध्यरातदेखि बिहानसम्म भारी वर्षा भएकाले सो क्षेत्र भई बग्ने नदीहरूमा जलसतह निकै बढेको छ ।