आज : २०८१ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

यस वर्ष च्यांग्राको मूल्य घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १७ गते


Advertisement

काठमाडौं । दसैँका लागि मुस्ताङबाट ल्याइएका च्यांग्राको मूल्य यसपटक सस्तो भएको छ।

च्यांग्राको संख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्यांग्राको मूल्य महँगो हुँदा व्यापार नभएको कारण यसपटक कृषकले नै बिक्री मूल्य घटाएका हुन्।

गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्यांग्रा खरिद गरेका व्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए।

‘ठाउँअनुसार ५ देखि १० हजार कम मूल्यमा च्यांग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौँ,’ उनले भने, ‘गत वर्ष काठमाडौँ र पोखरामा ५५ हजारसम्म परेको च्यांग्राको मूल्य यसपाली ४५ हजारभन्दा कम हुन्छ।’

गत वर्ष बजारमा ल्याएको च्यांग्रा महँगो हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए। छेवाङसहित डोल्पाका चार जना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिँडेर २ सय ५० च्यांग्रा बिक्री गर्न पोखरा लैजानका लागि बुधबार म्याग्दीको घोडेपानी पुगेका छन्। मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्यांग्राहरू दसैँमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन्।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत ठाउँबाट च्यांग्रा खरिद गर्नका लागि व्यापारीहरू मुस्ताङ पुगेर फर्किन थालेका हुन्।

जडिबुटीयुक्त बुकीमा चरेका च्यांग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ। दसैँतिहारमा हिमाली च्यांग्राको मासुको खपत बढी हुुने गर्छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका प्रमख लालमणि अर्यालका अनुसार बुधबारसम्म ७ हजार च्यांग्रा जोमसोमदेखि म्याग्दीतर्फ झरेका छन्। यस वर्ष दसैँका लागि मुस्ताङबाट १० हजार च्यांग्रा बिक्री हुने अनुमान गरिएको छ।

मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिँडाएर ल्याएका च्यांग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ। तीन वर्ष पूरा भएका च्यांग्रा मासुका लागि बिक्री हुने गर्छन्।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्यांग्रा पालिएका छन्। उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्यांग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४, याराका कृषक डिण्डुप गुरुङले बताए।

२०८० सालमा ७ हजार, २०७९ मा ६ हजार ८ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्यांग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रको तथ्यांक छ ।


प्रतिकृया दिनुहोस्