काठमाडौं, साउन २०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले ननग्रेड अर्थात् ‘एनजी’ उन्मुलन अभियान संचालन गर्ने भएको छ । शनिबार एक कार्यक्रममा बोल्दै मेयर उपेन्द्र कार्कीले यसै बर्षबाट एनजी’ उन्मुलन अभियान संचालन गरिने जानकारी दिएका हुन् ।
मेयर कार्कीकाअनुसार नगरपालिकाले परिक्षामा पासमार्क पनि नल्याएर अनुतिर्ण भएका विद्यार्थीका हकमा बिशेष व्यवस्था गरेर ननग्रेड अर्थात् (NG) उन्मुलन अभियान संचालन गर्न लागेको हो । पासमार्क पनि नल्याउने विद्यार्थीको हकमा विद्यार्थीलाई मात्र जिम्मा दिएर उम्कन नमिल्ने धारणा व्यक्त गरे । त्यसको जिम्मेवारी शिक्षक, विद्यालय, अविभावक र शिक्षा क्षेत्रमा लागेकाहरुले लिनुपर्ने मेयर कार्कीको भनाई छ ।
‘अब नगरपालिकाको ध्यान अनुतिर्ण भएका विद्यार्थीमाथि गएको छ । पढ्न सक्नेलाई अझ पढ्न सक्ने बनाउँ । राम्रोलाई अझ राम्रो रिजल्ट ल्याउन सक्ने बनाउँ । यो विद्यार्थी त यस्तै हो, मिहिनेत गर्दैनथ्यो भनेर छोड्ने एउटा प्रवृति छ । अब त्यसरी हुन्न, पासमार्क पनि नल्याउने विद्यार्थीको हकमा विद्यार्थीलाई मात्र जिम्मा दिएर उम्कन मिल्दैन । त्यसको जिम्मेवारी शिक्षक, विद्यालय, अविभावक र हामी जस्ता शिक्षा क्षेत्रमा लागेकाहरुले लिनुपर्छ । प्रत्येक विद्यालयमा अनुतिर्ण भएका संख्याको एक-एक हिसाब गरेर अनुतिर्ण किन भयो ? भन्ने प्रश्नको खोजि गर्दै समाधान गर्नेछौ ।’ उनले भने ।
यसबीचमा नगरपालिकाले ननग्रेड अर्थात् (NG) उन्मुलन अभियान अन्तर्गत विद्यालय, शिक्षक, अविभावक र जनप्रतिनिधिबीच छलफल भएको पनि उनले जानकारी दिए ।
शिक्षाको विकास विना अन्य क्षेत्रको विकास सम्भव नभएको भन्दै उनले नगरपालिकाले शिक्षा क्षेत्रको विकासलागि महत्वपूर्ण योजनाहरु संचालन गरिरहेको बताए । उनले नगरका विद्यालयहरुको भौतिक तथा गुणस्तरीय शिक्षा प्रणालीको विकासमा प्रयासरत रहेको र त्यसमा साथ दिन सबैलाइ आग्रह गरे ।
नगरपालिकाभित्र शिक्षा क्षेत्रमा देशमै गर्भ गर्न लायक विद्यालयहरु रहेको उल्लेख गर्दै उनले नगरका विद्यालयका स्तरोन्ती गर्दै गुणस्तरीय शिक्षा प्रणालीको विकास गरिने बताए । प्रत्येक विद्यालयले रिजल्टलाई मात्र टार्गेट गरेर शिक्षा प्रदान गर्नुभन्दा पनि संस्कारसहित शिक्षालाई प्राथमिकतामा राखेर शिक्षा दिनुपर्नेमा जोड दिए ।
गत असार १३ गते सार्वजनिक भएको एसइईको नतिजामा देशभरबाट आधाभन्दा धेरै विद्यार्थी अनुतिर्ण भएका थिए । कुल संख्याको ५२.१४ प्रतिशत विद्यार्थीले ननग्रेड अर्थात् एनजी ल्याएका थिए ।
परिक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीमात्र उतिर्ण भएका थिए ।