Hamro Sanchar

मुख्यमन्त्रीसँग किन रिसायो एमाले ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, १२ गते


Advertisement

विराटनगर, मंसिर १२- कोशी सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउँदा आफ्ना प्रदेशसभा सदस्यको योजना कटौती गरेपछि नेकपा एमाले मुख्यमन्त्री केदार कार्कीसँग रिसाएको छ ।

कोशी सरकारले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० (विनियोजन विधेयक) बुधबार पास गर्ने तयारी गरेको छ । तर आफ्ना सांसदको योजना कटौती गरेका कारण विनियोजन विधेयक पास गर्न असहयोग गर्ने एमालेले चेतावनी दिएको छ ।

तत्कालिन मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक हालका मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रदेशसभामा पेश गरेका थिए । त्यस क्रममा पूर्व सहमति विपरीत ३ अर्ब हाराहरीको योजना कटौती गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

एमालेसँगको सहमति विपरीत काम गरेका कारण प्रतिस्थापन विधेयक पास गर्दा एमालेले असहयोग गर्नसक्ने उनले बताए । सोमबार प्रदेशसभा बैठकमा बोल्ने एमाले सांसदहरुले योजना कटौती गरेको भन्दै कार्कीको विरोध गरेका थिए ।


प्रतिकृया दिनुहोस्