काठमाडौं, कात्तिक २१- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज चीन भ्रमणमा जाँदैछन् ।
१४ सदस्यीय जम्बो टोलीका साथ अध्यक्ष नेपाल आज चीन जान लागेका हुन् । भ्रमण टोली साँझ ५ बजे चीन जान लागेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । टोलीमा कृषिमन्त्री बेदुराम भुषाल पनि सहभागी छन् ।
नेपाल नेतृत्वको टोलीले युनान प्रान्तको खुमनिङ शहरबाट भ्रमण शुरु गर्नेछन् । नेपालको टोलीसँग बुधबार युनान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल कार्यक्रम राखिएको छ ।
युनान प्रान्तको आधुनिक कृषि प्रविधिका बारेमा टोलीलाई जानकारी दिने र युनान र नेपाल सरकारबीच कृषि प्रविधि आदानप्रदानका विषयमा छलफल हुने जनाइएको छ ।
युनान प्रान्तमा हुने राजनीतिक भेटघाट सकिएपछि अध्यक्ष नेपालको टोली राजधानी बेइजिङ पुगेर चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका नेताहरुलाई भेट र छलफल गर्नेछन् ।
टोली कार्तिक २८ गते स्वदेश फर्किने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । यसअघि, गत भाद्र ३ देखि दुई हप्ता चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा नेकपा एमालेका महासचिव शकर पोखरेल नेतृत्वको २१ सदस्यीय टोलीले पनि चीन भ्रमण गरेको थियो ।