काठमाडौं, कात्तिक १८- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्प प्रभावितलाई तत्काल सात लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार ७०३ केन्द्रीय सदस्यहरूबाट एक हजारका दरले रकम उठाएर सहयोग गर्न लागिएको हो ।
नेविसंघले २१ र २२ गतेका लागि तय गरेको पदस्थापना कार्यक्रम पनि स्थगित गरेको छ । भूकम्प प्रभावित क्षेत्रको राहत र उद्धारमा केन्द्रित हुन पदस्थापना स्थगित गरिएको शेर्पाले जानकारी दिए ।
साथै, नेविसंघ केन्द्रले प्रभावित क्षेत्रमा जुट्न मातहतका इकाइलाई निर्देशनसमेत गरेको छ । अध्यक्ष शेर्पाले अन्य आवश्यक सहयोग र प्रभावित क्षेत्रमा परिचालित हुने विषयमा तयारी भइरहेको बताए ।