काठमाडौं, असाेज २४- सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल एयर लाइन्सको जहाज पठाउने तयारी गरेको छ । सरकारले अध्ययन तथा अन्य कामको शिलशिलामा इजरायलमा गएर युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धारका लागि जहाज पठाउन लागेको हो ।
बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती तथा नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न निर्देशन दिएपछि जहाज पठाउने प्रक्रिया अगाडि बढाइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार पहिलो चरणमा नेपाल एयरलाइन्सको विमान इजरायल पठाउनेबारे प्रक्रिया थालिएको छ भने यस विषयमा मन्त्री किराती, नागरिक उड्यन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष र नेपाल एयरलाइन्सका प्रमुखसँग छलफल भइरहेको छ ।
द्वन्द्वग्रस्त मुलुक जानुअघि विमानको सबै इन्सुरेन्स गर्नुपर्ने भएकोले युएइबाट सो कार्य सम्पन्न गर्ने र इजरायलको विमानस्थलमा जहाज अवतरण अनुमतिको प्रक्रिया पनि बुधबार नै लिइने छ । त्यसपछि जहाज इजरायल उड्ने छ ।
युद्ध जारी रहेका कारणले इजरायलले हालसम्म उडान अनुमति दिन सकेको छैन । इजरायलमा उत्पन्न परिस्थितिका कारण समस्या भइरहेको जानकारी इजरायल सरकारले नेपाली दूतावासलाई जानकारी गराएको छ ।