काठमाडौं, चैत १५- जबजब चुनाव आउँछ र बजेट भाषण हुन्छ, तबतब विकासको लागि बजेट छुट्ट्याइन्छ र भोट माग्न आउँदा सडक, पानी र बत्तीजस्ता अत्यावश्यक सेवासुविधालाई विशेष प्राथमिकता दिनेछौं भनेर प्रण गरिन्छ । तर, जब चुनाव र बजेट भाषण सकिन्छ त्यसपछि सबथोक पहिलेको जस्तै अवस्थामा आउँछ । देश विकास गर्ने शैली यस्तो भएका कारण जनताले पीडा तथा दुःख झेल्नु परिराखेको छ ।
प्रत्येक वर्ष जनताले अब त केही राम्रो र केही नयाँ होला कि भनेर आस गर्ने गर्छन्, तर जनताका लागि ‘जति जोगी आए पनि कान नै चिरेका’ भन्ने उखानझैँ हुन्छ । भूकम्प, बाढी, पहिरो र कोरोना नै आउँदा पनि अत्यधिक मर्ने र दुःख खेप्नुपर्ने भनेको जनताले नै हो । ठूला-ठूला पदका मानिसहरूलाई के नै छ र विपत्तिको घडीमा आफू ओझेलमा बसेर परबाट बसी जनताको पीडा हेरेर बिचरा भने भइहाल्यो, झूटो आश्वासन दिए भइहाल्यो । बिजोग त यहाँ दिनहुँ ज्याला-मजदुरी गरेर आफ्नो परिवार पाल्ने मानिसहरूलाई छ ।
हो त्यस्तै दुख भोगिरहेका छन् ‘कात्तिके-सत्यश्वर-कर्कले’ सडकखण्ड अन्तर्गत दोलखाको मेलूङ गाउँपालिका-१ (साबिक पवटी वडा नम्बर ५) का स्थानीयले । गत साउनमा गएको पहिरोले उक्त सडकखण्ड अन्तर्गत जय बहादुर उप्रेतीको जमिन, लिला बहादुर बुढाथोकीको घर जोखिममा परेको छ भने घिसिङ तामाङको जमिन, यज्ञ बहादुर कालिकोटेको घरमाथिबाट पहिरो गएको छ भने ददिराम शिवाकोटी, कर्ण बहादुर उप्रेतीको घर जोखिममा परेको छ भने स्वयं गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यको घर माथिबाट पहिरो गएको छ । कृषी सडक भनेर नाम दिएको उक्त सडकको पहिरोका कारण अवस्था दर्दनाक छ । स्थानीय नागरिकहरुले तत्काल सडक बनाईदिन गाउँपालिकालाई आग्रह गरे पनि हालसम्म त्यो सडकको अवस्था जस्ताको त्यस्तै छ ।
काठमाडौंबाट बस जाने र छिटो पुग्ने सडकमा वर्षायाममा आवतजावत गर्न असम्भव छ । सडकको यस्तो दुर्दशा देख्दासमेत पून निमार्ण गर्न सरोकारवालाहरुको चेत नखुलेको भन्दै स्थानियहरुले आक्रोश व्यक्त गरेका छन् ।
जनप्रतिनिधिहरु र त्यहिँ घर भएकी गाउँपालिका उपाध्यक्षसमेत रहेकी गायत्री आचार्यलाई पटक-पटक आग्रह गर्दा पनि सडक निमार्ण गर्न चासो नदेखाउदा अन्य नागरिकले पनि सास्ती बेहोर्नु परेको स्थानीयको गुनासो छ ।
स्थानीयले पहिरोले क्षतविक्षत सडकमा तारजाली हाल्नुपर्ने, सडकमा सोलीङ गर्नुपर्ने, सडक सहज रुपमा सुचारु गर्न पहल गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।
एक स्थानीयले हाम्रोसंचारसँग कुरा गर्दै भने, ‘यहि सडकको मुनि उपप्रमुख गायत्री आचार्यको घर छ । उहाँकै घर माथिबाट सडक चर्केको छ । तर उहाँहरुलाई बारम्बार भन्दा पनि सुनिवाई त परै जावोस् हेर्न पनि आउनु हुन्न । काठमाडौंबाट गाडी जाने र छिटो पुग्ने बाटोको हालत यस्तो छ । कृषी सडक भनेर नाम दिएको सडकमा अहिले बजेट सुन्य छ । पहिरोले धेरै घरहरु जोखिममा छ्न् । गाडी गुड्ने सडक सानो र जोखिम छ । गाउँपालिका उपाध्यक्षलाई बारम्बार फोन गर्दा केहि मतलव गर्नुहुन्न । अहिले फोन पनि उठ्न छोडेको छ । रातदिन नभनी चुनावमा जिताउन खटियो तर अहिले ‘जति जोगी आए पनि कान नै चिरेका’ भन्ने उखानझैँ भएको छ ।’
पहिरो पश्चात् सडक संचालनका लागि जेसीभी पठाउन भन्दा पनि गाउँपालिकाले नसुनेको र शैलुङश्वर गाउँपालिकाको जेसीभी मगाएर पहिरो पन्छाउनु परेको स्थानीयले दुखेसो गरे ।
यस विषयमा गाउँपालिका उपाध्यक्ष आचार्यलाई हाम्रोसंचारले सम्पर्क गर्दा स्थानीयले आरोप लगाए जस्तो नभएको बताइन् । उनले भनिन्, ‘समस्या नभएको होइन तर स्थानीयले जे आरोप लगाउनु भएको छ त्यो सबै सत्य होइन । मेरो घर त्यहिँ छ भन्दैमा सबै त्यहि गर्नुपर्छ भन्ने हुँदैन । त्यहाँ चाहिँ गर्ने अन्य ठाउँमा नगर्ने भन्ने हामीले गर्न हुँदैन । कसैको घर पहिरोमा परेको छ भने तुरुन्त स्थानान्तरण वा अन्य के गर्नुपर्ने सहयोग गर्न सकिन्छ गर्छ । कहाँ कुन प्रकारको समस्या छ एकमुष्टमा गाउँपालिकाले कस्तो प्रकृतिको समस्या हो त्यो हेरेर गर्छ । प्राविधिकको सहकार्यमा कार्यपालिकाबाट पारित गरेर काम सम्पन्न गर्ने हो ।’
साथै उनले फोन नउठ्ने र सम्पर्कमा नरहेको कुरा गलत भएको उनको भनाई छ ।