काठमाडौं, चैत २१- कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले अब आफ्नै ढंगले चल्ने सहकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा नगरपालिकाको सहकारी साखाले मंगलबार आयोजना गरेको सहकारीमा विद्यमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर कार्कीले यस्तो चेतावनी दिएका हुन् ।
नगरपालिकामा संचालित २२ वटा सहकारीले अझै संस्थाले सामान्य रिपोर्टसम्म बुझाएका छैनन् । यसै सन्दर्भलाई जोड्दै मेयर कार्कीले आफ्नै ढंगले चल्ने सहकारीलाई अनुगमनमा देखिएका कमजोरीका आधारमा कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।
‘सबै सहकारीहरू खराब छैनन्, धेरै राम्रा कामहरू पनि गरेका छन् । सहकारीहरूले आर्थिक, सामाजिकसँगै रोजगारीमा समेत ठुलो सहयोग पुर्याएको छ । यसको लक्ष्य र उद्देश्य पनि समुदायमा आधारित वित्तीय कारोबार नै थियो । तर, पछि सहकारीहरूको गतिविधि र लक्ष्य अन्यत्र मोडिन पुग्यो । सहकारीहरू कमाउने केन्द्र बन्न थाल्यो । सहकारीहरू बैंकजस्तो बन्न खोजे । अझ नियम अनुसार सञ्चालन नहुने, विवरण नबुझाउने, पटक पटक आग्रह गर्दा पनि अटेर गर्ने गरेका छन् । त्यस्ता सहकारीलाई कारबाहीको दायरामा ल्याउछौं ।’ मेयर कार्कीले भने ।
यस्तै नियमअनुसार चलन र बचतकर्ताको रकम फिर्ता गर्न अनुरोध गर्दा ‘जे सक्छौ त्यो गर’ भन्ने धम्कीपूर्ण जवाफ दिएको आफुले सुनेको भन्दै त्यस्ता संस्थालाई कारबाही गरेर देखाइदिने उनले चेतावनी दिए ।
सहकारी ऐन अनुसार संघ/संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र लेखापरिक्षण र ६ महिनाभित्रमा वार्षिक साधारण सभासम्पन्न गरी साधारण सभाको निर्णय र पारित लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन पेश गर्नुपर्छ । प्रदेश सहकारी नियमावली २०७६ को नियम १८ बमोजिम आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र आफ्नो नियामक कार्यालयमा बुझाउनुपर्ने ब्यवस्था छ ।
सहकारीका पदाधिकारीहरूले नै बचत रकम दुरुपयोग गरेको आरोप लाग्ने गरेको र बचत फिर्ता नगरेको गुनासो आउने गरेको भन्दै मेयर कार्कीले गरिबका पैसा डुब्न नदिने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकामा उत्कृष्ट कम र रुग्ण र खराब बढी भएकाले राम्रा सहकारीलाई पुरस्कृत गर्ने, रुग्ण र खराब सहकारीलाई कानुन बमोजिम कारबाही गर्न थाल्ने उनको भनाइ छ ।
नगरपालिकाले सहकारी सम्बन्धी आधारभूत तालिम, भ्रमण निरीक्षण जस्ता कार्यमा सञ्चालन गर्दा पनि खासै प्रतिफल नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
स्थानीय स्तरमा रहेका जनताको उत्पादन बढाउने, उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि स्थानीय सरकार र सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै उनले सहकारीको पुँजी र प्रविधिलाई जनताको आयआर्जनमा लगाउन उनले सुझाव दिए ।
‘सहकारी संस्थाहरु पैसा रोपेर पैसा फलाउन मात्र लागि परे । मूल मर्म र भावनाअनुसार चलेनन् । ऋण र बचत मात्रै नभएर लघुउद्यम, कृषि, पशु जस्ता व्यवसायिक उत्पादनहरुसँग जोडिएर काम गर्नु पर्यो । शेयरधनी सदस्यहरुलाई गरिखाने वातावरण सिर्जना गर्न सक्नुपर्यो । नगरपालिका उद्यमशीलता तथा क्षमता विकासको लागि तालिम दिन र अभिभावकीय भूमिका निर्वाह गर्न नगरपालिका तयार छ ।’ उनले भने ।
नगरपालिकाले एक सहकारी न्युनतम एक उद्यमशीलताको नीति ल्याएको बताउदै मेयर कार्कीले यस बर्षबाट नगरपालिकाले पहिचान गरेका नयाँ क्षेत्रमा बचतको न्युनतम ५ प्रतिशत लगानी गर्नुपर्ने बताए ।
नगरपालिकामा ७० वटा सहकारी संस्था क्रियाशील छन् । एक सहकारीले उद्यमशीलताका क्षेत्रमा न्युनतम ५ प्रतिशत लगानी गरे झन्डै करोड हुने र स्वावलम्बी, उद्यमशील र सक्षम नगरपालिका बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।