Hamro Sanchar

सिद्धिगणेश मावि घुस प्रकरण : पक्राउमा स्थानीयको अवरोधपछि प्रहरी टोली खटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २६ गते


काठमाडौं, असार २६- कागेश्वरी मनोहरास्थित श्री सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास धिताल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गर्ने क्रममा स्थानीयले अवरोध गरेपछि प्रहरी खटिएको छ ।

आयोगको टोलीले उनीहरूलाई मंगलबार दिउँसो १६ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । तर, स्थानीयहरू जम्मा भएर उनीहरूलाई लैजान नदिएपछि प्रहरी टोली खटिएको हो । प्रहरी वृत्त बौद्धबाट डिएसपी हरिबहादुर बस्नेतको नेतृत्वका प्रहरी टोली खटिएको छ ।

शिक्षक नियुक्तिसम्बन्धी विवादमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले घुस लिएको उजुरीपछि आयोगको टोलीले उनीहरूलाई नगरपालिकाको वडा नम्बर १ स्थित गागलफेदी बसपार्कबाट रंगेहात नियन्त्रणमा लिएको हो ।

उच्चमावि तहका लागि हालै विद्यालयले एक शिक्षक नियुक्त गरेको थियो । तर, उनलाई आठ कक्षासम्म मात्र पढाउन दिइएको थियो । आफूलाई उच्च माविमा पढाउन नदिएपछि शिक्षकले राजीनामा दिएका थिए । तर, शैक्षिक प्रमाणपत्र फिर्ताका लागि विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले घुस मागेको उनले बताएका छन् ।

सुरुमा २० हजार मागेको र पछि १६ हजारमा सहमति भएको थियो । घुस लिएलगत्तै उनीहरू पक्राउ परेपछि केही स्थानीयले अख्तियारको टोलीलाई अवरोध गरेका छन् । जसकारण प्रहरी टोली खटिएको काठमाडौं प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीले बताए ।


प्रतिकृया दिनुहोस्