काठमाडौं, असार २६- यस वर्षको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएसंगै बिद्यार्थीहरुको उत्रिण प्रतिशत र उनीहरुले ल्याएको ग्रेडको आधारमा काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर – १ , गागलाफेदीमा रहेको श्री सिद्धिगणेश माध्यमिक विद्यालय काठमाडौं जिलाकै सर्वोउत्कृष्ट सामुदायिक बिद्यालय घोषणा भयो ।
यो विद्यालय एसईईको नतिजामा सामुदायिक विद्यालयतर्फ ३.५२ औसत GPA का साथ काठमाडौं जिल्लाकै प्रथम भएको थियो । यो बिद्यालयका लागि निकै गौरवको कुरा थियो । केहिदिन यता विद्यालय, विद्यालय परिवार, बिद्यार्थी र अभिभावक यो अवसरमा खुसियाली मनाईरहेका थिय । तर यो खुसियाली लामोसमय टिक्न सकेन सिद्धिगणेशका लागि ।
जिल्लाकै सर्वोउत्कृष्ट बिद्यालय घोषणा भएको खुसियाली मनाई नसक्दै सिद्धिगणेशलाई बज्रपात परेको छ । त्यो पनि विद्यालयकै प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाट । श्री सिद्धिगणेश माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास रिजाललाई १६ हजार घुससहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनीहरूले शिक्षक छनौट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा गागलफेदी बसपार्कबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।