विराटनगर, असार २६- विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले एक जना युवालाई पक्राउ गरेको जनाएको छ ।
१९ वर्षीय आयुष भेटवाललाई प्रहरीले गत बिहीबार नै पक्राउ गरेको थियो ।
विराटनगर महानगरपालिका ४ स्थित दूधफारम चोकनजिकै एक साइकल यात्रीलाई मुक्का हानेर सडकमा लडाएपछि घिसार्दै गरेको भडियो भाइरल भएको थियो ।
प्रहरीले दिएको जानकारीअनुसार असार १९ गते राति कोसी राजमार्गमा निजी गाडीबाट ओर्लिएर विराटनगर ४ का भेटवालले साइकल यात्रुलाई मुक्का हानेर ढलाएका थिए । त्यसपछि बेहोस भएका साइकल यात्री विराटनगर–६ बस्ने पवन साहलाई अमानवीय ढंगले सडकमा घिसारेर पल्लो छेउ पुर्याएका थिए ।
विराटनगर–४ खारजी बस्ने भेटवाललाई घटना भएको १० घण्टापछि पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दिपक पोखरेलले जानकारी दिए ।
पीडित साहले आफू फ्याक्ट्रीमा काम गरेर साथीसँगै साइकलमा घर फर्कने क्रममा भेटवालले निजी गाडीबाट एक्कासी उत्रिएर मुक्का हानेर बेहोस बनाएको बताए ।
“म आफ्नै सुरमा साइकलमा फर्कँदै थिएँ, नजिकै दौडिएर आई एक्कासी मुक्का प्रहार भएपछि म बेहोस भएर सडकमा पछारिएँ,” साहले भने, “अनाहकमा ज्यान मार्ने गरी आक्रमण भयो । मेरो उनीसँग कुनै दुश्मनी पनि थिएन । मलाई ज्यान मार्न खोज्नेलाई ज्यान मुद्दामा कारबाही हुनुपर्छ ।”
बा१५च ३४४५ नम्बरको कारमा सवार भेटवालले साहमाथि आक्रमण गरेको र उनका मतियारहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।