काठमाडौं, असार २६- मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।
लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
अहिलेसम्म ५ वटा शब भेटिएको प्रहरीको भनाइ छ । उनीहरुको पहिचान भएको छैन ।
उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको बताएको छ ।
खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १० बजे उडेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर ५–७ मिनेटमा नै सम्पर्कविहीन भएको थियो ।
बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो ।
हेलिकप्टरमा पाँच जना विदेशी नागरिक थिए । हेलिकप्टरका पाइलट नेपाली हुन् ।