काठमाडौं, असार २४- देशमा प्राविधिक शिक्षा विस्तार गर्ने उद्देश्यले २०७० सालमा शिक्षा विभाग मार्फत शुरू गरिएको प्राविधिक तथा व्यावसायिक कक्षा संचालन गर्ने सामुदायिक विद्यालयको संख्या बढ्दै गएको छ । प्राविधिक धारतर्फ कक्षा ९-१२ मा विद्यालयको छनोट अनुसार बाली विज्ञान, पशु विज्ञान, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ अथवा इलेक्ट्रोनिक्स इन्जिनियरिङमध्ये कुनै एउटा विषयको पढाइ हुन्छ । सामाजिक आर्थिकरूपले पछि परेका विद्यार्थीको प्राविधिक शिक्षामा समतामूलक पहुँच होस् भन्ने यो कार्यक्रमको प्रमुख लक्ष्य हो ।
सरकारले यस्तो प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि पूर्वाधार, प्रशिक्षक तथा प्रयोगशाला सहयोगी, विद्यार्थीको कार्यस्थल अभ्यास जस्ता शीर्षकमा विद्यालयहरूलाई अनुदान दिने गरेको छ । तर पूर्व तयारी कार्य राम्ररी न गरिएका कारण प्राविधिक विषय रोजेका सबै विद्यालयले उत्तिकै व्यवस्थित ढंगबाट कक्षा चलाउन सकेका छैनन् । धेरै ठाउँमा प्राविधिक शिक्षा विद्यार्थीको भन्दा पनि विद्यालयको मात्र रोजाइको विषय बन्दैछ । कक्षा ११ र १२ मा प्राविधिक धारका ८० प्रतिशतसम्म विद्यार्थी फेल हुन थालेपछि त्यस्ता कक्षा संचालन गर्ने विद्यालयका प्रअ नै पनि चिन्तामा पर्न थालेका छन् । विशेष गरी अंग्रेजी माध्यम, गाह्रो विषयवस्तु, प्रशिक्षक नटिक्नु र उनीहरूलाई शिक्षण विधि सम्बन्धी ज्ञान नै नदिई पढाउन पठाउनु जस्ता कारणले सामुदायिक विद्यालयहरूमा शुरू गरिएको प्राविधिक शिक्षा चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।
तर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको श्री तेजविनायक माध्यामिक विद्यालयले कम्प्युटर विज्ञान कक्षा संचालन गर्न जोडतोडले लागेको छ । तेजविनायक माध्यामिक विद्यालयले गत बैशाखदेखि मात्रै कम्प्युटर विज्ञान कक्षा संचालन गर्दै आएको हो । शैक्षिक सत्र २०८० देखि प्राविधिक तथा ब्याबसायिक धार तर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर विज्ञान कक्षा संचालन गर्दै आएको प्रधानाध्यापक ओम कुमार श्रेष्ठले हाम्रोसंचारलाई जानकारी दिए ।
नगरपालिकाभित्र सामुदायिक विद्यालय तर्फ तेजविनायकमा मात्रै अध्यापन गराइने उनको भनाइ छ ।
नगरपालिकाको वडा नम्बर ८ मा रहेको विद्यालय कम्प्युटर विज्ञान कक्षा संचालन गर्ने एक मात्र विद्यालय हो ।
कक्षा संचालनका लागि नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ भने दुरसंचार कम्पनी NCELL ले २४ वटा कम्प्युटर सहयोग प्रदान गरेको छ । यस्तै सिसिटिभी, इन्टरनेट, फोटोकपी लगायतका आवश्यक उपकरण जडान गरिएका छन् । विद्यालयमा विज्ञानको ल्याव छुट्टै रहेको छ ।
कक्षा ९ मा १८ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यार्थीको संख्या बढ्दै जाने भएकाले विद्यालयले शिक्षकको लागि विज्ञापन गरिसकेको छ ।
सो कोर्ष निजि विद्यालयमा पढ्दा धेरै महँगो हुने तर तेजविनायकमा अति नै न्युनतम शुल्कमा पढाई हुने विद्यालयका कम्प्युटर विज्ञान कोअर्डिनेटर संजिव दाहालले जानकारी दिए ।
सामुदायिक विद्यालयको पढाइ राम्रो नभएको गुनासोसहित अभिभावक महँगो शुल्क तिरेर निजी विद्यालयमा छोराछोरी पढाउन बाध्य हुँदै आएका बेला आफुहरुले सस्तो, गुणस्तरीय शिक्षा उदेश्यका साथ कक्षा संचालन गरेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । उनले तेजविनायक माध्यामिक विद्यालयमा अध्ययनका उपयुक्त भएकाले यहाँ आउन अविभावक र विद्यार्थीलाई अनुरोध गरेका छन् ।