काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिद्वारा आयोजित गुरुराज घिमिरेको ‘बाटो बिराएको राजनीति’को विमोचन समारोहमा बोल्दै महामन्त्री थापाले गठबन्धनको सरकार बन्नेमा कुनै शंका नभएको बताएका छन् ।
थापाले सरकार बनाउन भन्दा सरकार बनाएपछि के गर्ने चिन्ता लिनुपर्नेमा समेत जोड दिएका छन् । सरकारको कुनै निश्चित उद्देश्य नभएपछि काम गर्न नसकिने उनको भनाई छ । गठबन्धनको सरकारले स्पष्टता दिनुपर्ने उनले बताए ।
थापाले ५ वर्षसम्म स्थिर सरकार बनाउनुपर्नेमा समेत जोड दिएका छन् । सरकारमा बस्नेले शक्ति, स्रोत र सीमालाई ख्याल गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । अर्थतन्त्र डामाडोल अवस्थामा भएकाले निर्वाचनमा उम्मेदवारले खटे जस्तै गरी सरकारले काम गर्नुपर्ने उनले बताए । अर्थतन्त्र सम्हाल्न सानो सोच र क्षमताले नहुने थापाको जिकिर थियो ।
गठबन्धन सरकारले समस्याको समाधान दिएर अगाडि बढ्ने उनको भनाइ छ । उनले कांग्रेसको लोकप्रिय मत घटेकोप्रति चिन्ता व्यक्त गरेका छन् । महामन्त्री थापाले पार्टीभित्र कोही दाइ रिसाउँछ भनेर नभई इमानदारीपूर्वक पार्टी संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले भने, ‘प्रत्यक्षमा पनि हामी एक्लै लडेर ल्याएको होइन त्यति सीट । त्यसैले अब सरकार बनेपछि कामले देखाउन सक्नुपर्छ। काम गरेपछि मात्रै अबको पाँच वर्षपछि ४० प्रतिशतको पार्टी बन्नसक्छ। पार्टी आफैं बन्छ ।’