काठमाडौं, साउन १७- घुससहित रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रकम बरामद भएको छ ।
उनले चढेको बा १ झ ९९४६ सरकारी नम्बरको कारबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
नेपाललाई अख्तियारको टोलीले मंगलबार साँझ काठमाडौं महानगरपालिका-१ नागपोखरीस्थित आरन्य होटल कम्पाउन्डबाट ६ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको थियो ।
नेपालले घुस माग गरिरहेको भन्ने गोप्य सूचना अख्तियारले पाएको थियो । सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस मागेका थिए ।
उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ ।