काठमाडौं, असार ३२- नेपालमा ठूलो बहस सिर्जना गरेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले दुई शक्तिराष्ट्र चीन र अमेरिकालाई पुनः आमनेसामने ल्याएको छ। गत फागुन १५ गते नेपालको संसद्बाट अनुमोदन भएपछि यो विषय सेलाउँदै गएको थियो। तर नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थोमसनले बुधबार अमेरिकी संसद्को विदेश सम्बन्ध समितिमा चीनको दुष्प्रचारबीच नेपालको संसद्ले एमसिसी अनुमोदन गरेको बताएपछि यो विषय पुनः बहसमा आएको हो। नेपालस्थित चिनियाँ दूतावासले थोमसनको भनाइको खण्डन गरेको छ।
चिनियाँ दूतावासले शुक्रबार पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै नेपालका लागि प्रस्तावित अमेरिकी राजदूतको भनाइ आधारहीन भएको दाबी गरेको छ। दूतावासले अमेरिकी अधिकारीको भनाइले चीनलाई बदनाम गराउने मात्र नभई नेपाल र नेपाली जनताको अपमान गरेको जनाएको छ। ‘उनीहरू (अमेरिकी अधिकारी) ले चीनलाई बदनाम मात्र गरेका छैनन्, नेपाल र नेपाली जनताको पनि अपमान गरेका छन्। यो साँचो रूपमा दुष्प्रचार हो। चीन यसलाई खारेज गर्छ,’ दूतावासले भनेको छ।
नेपालको संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गरेपछि यस विषयमा दुवै शक्ति राष्ट्र एकअर्कालाई दोषारोपण नगरी मौन रहँदै आएका थिए। अमेरिकी अधिकारीको पछिल्लो अभिव्यक्तिपछि यो विषय शक्तिराष्ट्रबीचको बहसका रूपमा पुनः सतहमा आएको छ। चीनले थोमसनको भनाइलाई जानकारीमा राखेको भन्दै एमसिसीले नेपालमा ठुलो बहस सिर्जना गरेको जनाएको छ। एमसिसी सम्झौतालाई नेपालको संविधानले निर्देशित गर्नेगरी नेपाली संसद्ले ‘व्याख्यात्मक घोषणा’ पनि पास गरेको र नेपाल कुनै पनि अमेरिकी रणनीति र हिन्द प्रशान्त रणनीतिसहितका कुनै सैन्य वा सुरक्षा गठबन्धनमा सहभागी नहुने पनि दूतावासको प्रतिक्रियामा उल्लेख छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।