काठमाडौँ, पुस १७- यस वर्षको ‘इन्टेग्रिटी आइकन नेपाल-२०२३’ का लागि काठमाडौंको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित पाँच जना सरकारी कर्मचारीहरूको नाम छनोट भएको छ । काठमाडौंको तारकेश्वोर नगरपालिकामा रहेको सामुदायिक विद्यालय, मनमैजु माध्यामिक बिद्यालयका प्रधानाध्यापक रबिना महर्जनसहित पाँच जना सरकारी कर्मचारीहरूको नाम छनोट भएको हो । यस वर्षको इन्टेग्रीटी आइकनका लागि देशभरबाट ४ सय ६६ मनोनयन प्राप्त भएकोमा पाँच जना इन्टेग्रीटी आइकन छनौट भएका हुन् ।
सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच कर्मचारीलाई इन्टेग्रिटी आइकन घोषणा गर्दै आएको एकाउन्ट्याबिलिटी ल्याब नेपालले जनाएको छ । यस अन्तर्गत मनमैजु माध्यामिक बिद्यालयका प्रधानाध्यापक रबिना महर्जन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशी राज दाहाल, पूर्व सचिव जीवनप्रभा लामा रआइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहेको निर्णायक समितिले पाँच जनाको नाम छनौट गरेको हो ।
एकाउन्ट्याबिलिटी ल्याब नेपालले दश वर्षदेखि इन्टेग्रिटी आइकन मार्फत सार्वजनिक संयन्त्र भित्रका कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आइरहेको छ ।
मनमैजु माध्यामिक बिद्यालयका प्रधानाध्यापक रबिना महर्जनको बारेमा:
काठमाडौँमै जन्मे हुर्के पनि रबिना महर्जनको बाल्यकाल अति कष्टकर र गरिबीमा बित्यो । बुबा र आमा दुवैको जिम्मेवारी आमाले मात्र निभाउनु पर्याे ।
बुबा मदिरा पानको कुलतमा फसेका थिए । आमा घर खर्चको जोहो गर्न अरूको घरमा भाँडा माझ्ने र कपडा धुने काम गर्ने गर्दथिन् । आमा जहाँ जहाँ काम गर्न जान्थिन् उतैबाट फालिएका कापीका पाना सिलाएर कापी बनाएर ल्याउँथिन् । कहिलेकाहीँ तिनै सिलाइएकै कापी नपाउँदा भने रबिना कक्षाबाट निकालिनु पर्दथ्यो ।
रबिना कापी नभएर पटक पटक कक्षा कोठा बाहिर निकालिने विद्यार्थीमा पर्दथिन् । उनकी आमा हुनेखानेका घरमा काम गर्दथिन् । साहुको घरमा फालिएका खेलौना र पुराना कपडा पाइन्छ भन्ने आशामा उनी पनि आमासँगै पछि लागेर जान्थिन् ।
भाँडा माझ्दथिन् । पढेर भविष्यमा के बन्ने भन्ने त उनले सोचेकै थिइनन् । किन भने, बिहान खायो भने साँझ खान पाईन्छकी पाइँदैन भन्ने टुङ्गो हुँदैनथ्यो । आधा किलो चामलको १० रुपैयाँ पर्दथ्यो । त्यो पनि नभएपछि उनकी आमा पसलमा झुठो बोलेर डेढ पाउ चामल किन्दथिन् । मन्दिर जानलाई डेढ पाउ चामल किन्दा पसलेले अर्को प्रश्न सोध्दैन भन्ने उनकी आमालाई लाग्दथ्यो । त्यसैको जाउलो बनाएर आमाले रबिना र उनका भाइलाई विद्यालय पठाउँथिन् ।
रबिना सानोमा पप गीत गाउन मन पराउँथिन् । उनलाई लाग्दथ्यो, म भोलि गएर गायक पो बन्छु कि ? त्यसपछि उनलाई कराते खेल मन पर्याे, फेरी उनलाई लाग्यो कतै भविष्यमा कराते खेलाडी पो बन्छु कि ?
पढाई राम्रै थियो, उनलाई विज्ञान पढ्छु कि जस्तो पनि लाग्यो । त्यो पनि भएन । कापी नभएर कक्षाबाट निकालिँदै गर्दा सोच्ने गर्दथिन्, भोली म नै शिक्षक भयो भने कस्तो होला ?उनले एसएलसी पास गरिन् । विद्यार्थी हुँदा कहिले छोड्न पाइएला भन्ने लागेको विद्यालय, साँचिक्कै छोड्नुपरे पछि गई रहन मन लाग्यो ।
उनले खालि भएका कक्षामा पढाउन थालिन् । एक दिन तत्कालीन प्रधानाध्यापकले महिनाको २ हजार ७ सय रुपैयाँ दिन्छौँ, पढाउँछौ ? भनेर सोधे । गरिबीले थलिएको उनको परिवारको लागि त्यो रकम धेरै ठुलो थियो । उनी पढाउन थालिन् ।
उनले बाह्र वर्ष सोही विद्यालयमा पढाइन् । गणित विषयबाट सुरु गरेर बिस्तारै आफ्नो योग्यता अनुसार मार्केटिङ, अर्थशास्त्र र लेखा पनि पढाइन् । उनी बालबालिकालाई मेरो सेरोफेरो पढाउँथिन् । जाँड रक्सी खानु हुँदैन भनेर सिकाउँथिन् ।
विद्यालय नजिकै भट्टीमा रक्सी खाएर उनका बुबा खुट्टा थाम्न नसक्ने गरी निस्कन्थे । धेरै अवस्थामा विद्यार्थीको सहयोगमा बुबालाई घर लानु परेको अवस्था पनि थियो । त्यसले उनलाई बढी पीडा दिन्थ्यो ।
गणितमा रुचि नै नभएका विद्यार्थी लागि ५०% अङ्क सामान्य हुन थाल्यो
भूकम्प लगत्तै उनले शिक्षण अनुमतिपत्र परीक्षा पास गरिन् । लगत्तै २०७४ सालमा शिक्षक सेवा आयोग पास गरेपछि उनको पहिलो पदस्थापन च्वादी पब्लिक माध्यमिक विद्यालय, नुवाकोटमा भयो ।
उनी घर छोडेर पहिलो पटक बाहिर गइन । त्यहाँ कोही पुरुष शिक्षकले, “फेरी पनि महिला नै आउनुभएछ” भनेको सुनिन् । उनलाई लाग्यो के ग¥यो भने पुरुष सरह भइँदो रहेछ । च्वादी पब्लिक माध्यमिक विद्यालय जाँदा उनले त्यहाँका विद्यार्थीहरू गणित विषयमा निकै कमजोर भएको पाइन् । विद्यार्र्थीहरूमा गणित विषयको तहगत आधारभूत ज्ञान पनि थिएन र गणित विषयप्रति रुचि पनि थिएन ।
विद्यार्थीहरूको गणित विषयप्रति रुचि बढोस् भनेर व्यवहारिक सिकाइलाई आधार बनाएर पढाउन थालिन् । कोणको बारेमा पढाउनु परेमा मैदानमा लगेर कोणका प्रकारहरू अनुसार नै विद्यार्थीहरूलाई राखेर सिकाउन थालिन् । दैनिक रूपमा प्रयोग हुने समानहरू जस्तै तरकारी, दाल, घाँस, धागो आदि प्रयोग गरेर गणितका कोण, समूह जस्ता विभिन्न अध्यायहरू बुझाएर सिकाउन थालिन् । जसले गर्दा विद्यार्थीहरूको गणित विषयमा रुचि बढ्न थाल्यो ।
जुन विद्यार्थीलाई अतिरिक्त कक्षाको आवश्यकता थियो, त्यस्ता विद्यार्थीलाई आफू बस्ने घरमा बोलाएर निःशुल्क पढाउन थालिन् । पहिले कमजोर भनिएका विद्यार्थीहरू मध्ये कहिले ९०% अङ्कसम्म पनि ल्याए भने, ५०% अङ्क त विद्यार्थीहरूका लागि सामान्य हुन थाल्यो ।
खेतीपातीमा रमाउने विद्यार्थी विद्यालय आउन थाले
च्वादी पब्लिक माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थी बिच निकै कम अन्तरक्रिया हुन्थ्यो । विद्यार्थीहरू पनि नियमित विद्यालय आउँदैनथे । उनीहरू पढाई भन्दा बढी खेतीपाती र हाटबजारमा संलग्न हुन्थे ।
विद्यालयप्रति आकर्षित गर्न रबिनाले विद्यार्थीका अभिभावकलाई भेटिन् । उनीहरूलाई पढाइको महत्त्व बारेमा बुझाइन् । विद्यार्थीहरूसँग पनि अन्तरक्रिया बढाइन् । विद्यालयमा विद्यार्थीमैत्री वातावरण तयार भयो । गणित भन्ने बित्तिकै दिक्क मान्ने विद्यार्थीहरू नियमित कक्षामा आउन थाले । त्यति मात्र नभएर उनीहरू अतिरिक्त कक्षा र बिदाको दिन समेत विद्यालय आउन थाले ।
विद्यालयमा कम्प्युटर थिएन । उनले आफ्नो निजी ल्यापटप लगेर विद्यार्र्थीहरूलाई प्रेरणामूलक भिडियोहरू देखाउन थालिन् । भनेको नमान्ने, पढ्न नखोज्ने, अनुशासनमा नबस्ने भनिएका विद्यार्थीहरूमा समेत सकारात्मक परिवर्तन आउन थाल्यो ।
एक जना विद्यार्थी विद्यालयमा कम उपस्थित हुन्थे । विद्यालय आएको दिन पनि आफ्नै समूह बनाएर हिँड्ने गर्दथे । उनको ध्यान पढाइमा हुँदैनथ्यो । उनले उक्त विद्यार्थीलाई उच्च आदरार्थी शब्दले सम्बोधन गरेर अन्तरक्रिया गर्ने र सम्झाउने व्यवहारले धेरै विद्यार्थीमा परिवर्तन आउन थाल्यो ।
उनलाई होच्याएर बोल्ने, आदर नगर्ने विद्यार्थीहरूले समेत आफै गल्ती महसुस गरेर नियमित कक्षामा उपस्थित हुने र पढाइमा रुचि राख्न थाले । त्यसको प्रतिफल नतिजामा पनि देखियो ।
एक वर्षमै प्रधानाध्यापक र “ईमर्जिंग हेड टिचर”
२०७६ सालमा मा.वि तह शिक्षकका लागि शिक्षा सेवा आयोगको परीक्षा पास गरेपछि उनको पदस्थापन काठमाडौँको मनमैजु मा.वि.मा भयो । उनी त्यहाँको मा.वि. तहको सबै भन्दा कनिष्ठ शिक्षक थिइन् । तत्कालीन प्रधानाध्यापकले अवकाश पाउन थोरै समय बाँकी थियो । उनले रबिनाको पढाउने र नेतृत्व लिन सक्ने क्षमताको आङ्कलन गरिसकेका थिए । उनले नै रबिनालाई सहायक प्रधानाध्यापकको लागि सिफारिस गरे ।
त्यस पश्चात् मनमैजु आएको १ वर्ष नहुँदै उनले प्रधानाध्यापकको जिम्मेवारी पाइन् । उनले प्रधानाध्यापकको जिम्मेवारी पाए लगत्तै कोरोना महामारी पनि फैलियो । विद्यालयमा श्रोत साधनको कमी थियो जसले गर्दा अनलाइन कक्षा सञ्चालन गर्न कठिन भयो ।आफ्ना बालबालिकाहरूलाई मास्क लगाएर विद्यालय पठाई दिन अभिभावकलाई अनुरोध गर्दा, उनीहरूले मास्क किन्नुको साटो त्यो पैसाले साँझ बिहान साग किनेर खान पुग्छ भन्ने जस्तो जवाफ पटाउँथे । मनमैजु मा.वि.मा प्राय विद्यार्थी निम्न वर्गीय परिवारबाट आउने गर्दछन् ।
अनलाइन कक्षा सञ्चालन सम्बन्धी निर्णय गर्न विद्यार्थी, शिक्षक र अभिभावकसँग छलफल गरिन् । घरमा मोबाइल फोन हुने विद्यार्थीहरूलाई अरु १‑२ जना साथी बोलाएर सँगै बसेर पढ्ने वातावरण तयार गरिन् । सुरुमा थोरै मात्र विद्यार्थी अनलाइन कक्षामा सहभागी भए । बिस्तारै उनीहरूलाई अनलाइन कक्षाको महत्त्व बुझाउँदै गइन । विद्यार्थीको संख्या बढेर ८५% सम्म पुग्यो ।
सानो कक्षाका बालबालिकालाई भने अनलाइन कक्षा सम्भव नभएर शिक्षकहरूलाई कक्षाको तालिका बनाएर रोल नम्बर अनुसार भौतिक दूरी कायम राखेर विद्यालयमै कक्षा सञ्चालन गर्ने व्यवस्था गरिन् । उनको प्रयासले उक्त विषम अवस्थामा पनि विद्यार्थी पढाइबाट वञ्चित हुनु परेन । फलस्वरूप, उनले नगरपालिकाबाट “ईमर्जिंग हेड टिचर” भनेर ज्यापू सरस्वती पदक पाइन् ।
५ सयबाट बढेर विद्यार्थी संख्या ८ सय ३३ पुग्यो
रबिनालाई आफू पढाउने विद्यालयको गुणस्तर कुनै पनि निजी विद्यालयको भन्दा कम नहोस् भन्ने चिन्ता हुन्छ । त्यसका लागि उनी शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलाप र व्यवस्थापनमा पनि सुधार गर्न लागि परिन् ।
विद्यार्थीहरूले बाल क्लब गठन गरी त्यसको नेतृत्व आफै लिन थाले । कक्षामा विद्यार्थीले सृजनात्मक क्रियाकलापको अभ्यास गर्न थाले । लेख रचनासँगै नियमित डायरी लेखन कार्यलाई अगाडी बढाए । त्यसले विद्यार्थीको आत्मविश्वास बढ्यो ।
त्यो कुरा समुदायमा प्रतिबिम्बित भयो । ५ सयबाट बढेर विद्यार्थी संख्या ८ सय ३३ पुग्यो ।
शिक्षक पनि, अभिभावक पनि
एक जना शिक्षकले आफ्नो जीवनकालमा हजाराँै विद्यार्थीलाई पढाएको हुन्छ । विद्यालयबाट निस्किसकेपछि सबै विद्यार्थीलाई शिक्षकले चिनी राख्न सम्भव पनि हुँदैन । त्यसै गरेर सबै विद्यार्थीले आफूलाई पढाएका सबै शिक्षकलाई सम्झी राख्ने पनि हुँदैन ।
रबिनामा एउटा गुण छ, जसले गर्दा विद्यार्थीले उनलाई सम्झिरहन्छ । उनी विद्यार्थीको शिक्षक मात्र बन्दिनन् । उनी विद्यार्थीको अभिभावक अनि साथी पनि बनिदिन्छिन् ।
ज्ञानोदयमा रबिनाले पढाउँदाका विद्यार्थी राजीव विक्रम थापा अहिले पनि कुनै निर्णय लिँदा रविनाको सुझाव लिने गरेको बताउँछन् । राजीवलाई रबिना कहिल्यै पनि मेरो शिक्षक मात्र हो जस्तो लागेन । उनले जहिल्येई रबिनालाई दिदी अनि अभिभावक माने ।
राजीव एक उदाहरण मात्र हुन् । रबिनाले पढाएका विद्यार्थी देश विदेशमा विभिन्न ओहोदामा काम गरिरहेका छन् । जसले आफूले पढाएका थुप्रै शिक्षक मध्ये रबिनालाई हालसम्म पनि आफ्नो आदर्श व्यक्ति र अभिभावक मान्ने गरेका छन् ।