Hamro Sanchar

‘बहुलवादी लोकतान्त्रिक’ पार्टी भएको रास्वपाको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, १४ गते


Advertisement

काठमाडौँ, मंसिर १४- राजनीतिक–वैचारिक अस्पष्टताको आरोप खेपिरहेको संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनीतिक कित्ता स्पष्ट पारेको छ । पार्टी स्थापना भएको १५ महिनापछि उसले आफूलाई ‘बहुलवादी लोकतान्त्रिक’ पार्टी बताएको हो । आसन्न निर्वाचनको तयारीस्वरूप मिसन–०८४ सुरु गरिसकेको रास्वपाले यसको मार्चचित्र पनि तयार गरेको छ ।

बुधबार महोत्तरीमा सम्पन्न तीनदिने केन्द्रीय र संसदीय दलको संयुक्त बैठकले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने र उदार अर्थतन्त्रको नीति लिने राजनीतिक प्रस्ताव पारित गरेको छ । पूर्ण राजनीतिक दस्ताबेज केही समयमा सार्वजनिक गर्ने बैठकको निर्णय छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति उसको प्रतिबद्धता छ ।

‘हाम्रो पार्टीको नीतिगत र वैचारिक अस्पष्टतालाई लिएर बारम्बार आरोप लगाइन्थ्यो, प्रश्न उठाइन्थ्यो,’ रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने, ‘त्यो वैचारिक अस्पष्टता मधेशमा सम्पन्न बैठकबाट चिरेका छौँ । मूल विषय प्रस्ट गरेका छौँ, पूर्ण राजनीतिक दस्ताबेज बिस्तारै सार्वजनिक गर्नेछौँ ।’


प्रतिकृया दिनुहोस्