Hamro Sanchar

तुहियो दुर्गा प्रसाईंको ‘राजावादी आन्दोलन’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, १३ गते


Advertisement

काठमाडौं, मङ्सिर १३- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेबाट काठमाडौं उपत्यकामा गरेको ‘राजावादी आन्दोलन’ अन्ततः तुहिएको छ । प्रसाईं समूहले आन्दोलन थालेको आज एक हप्ता पूरा नहुँदै तुहिएको अवस्थामा पुगेको हो ।

प्रसाईंले गणतन्त्रविरुद्ध उपत्यकामा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक वचाउ महाअभियान’ को ब्यानरमा मंसिर ७ गतेदेखि ‘वृहत नागरिक मुक्ति आन्दोलन’ को घोषणा गरेर गणतन्त्र नढलेसम्म निरन्तर आन्दोलन गर्ने दाबी गरेका थिए ।

एमाले–माओवादी केन्द्रको विभाजनपछि एमालेमा लागेर केन्द्रीय सदस्यसम्म बनाइएका प्रसाईं अध्यक्ष केपी ओलीका भित्रिया नाती बनेका थिए । तर, गएको २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि प्रसाईं असन्तुष्ट भएको बताइन्छ । त्यसपछि ०७९ फागुन १ गतेदेखि प्रसाईंले छुट्टै राजावादी अभियान चलाउन थालेपछि एमालेले उनलाई पार्टीबाट निस्कासन गरेको थियो ।

प्रसाईंले श्रीलंका जस्तै १० औं लाख जनता गएर सिंहदरबारबाट भ्रष्ट नेता लखेट्ने र पूर्वराजा ज्ञानेन्द्रलाई नारायणीहिटी दरबारमा पुनःस्थापित गर्ने बताएका थिए ।

प्रसाईं र उनका समर्थकहरूले देशभरी र भारतबाट हज्जारौं सवारी साधनमार्फत लाखौं नागरिकहरू समेत काठमाडौं आउनलागेको भन्दै भ्रम फैलाएका थिए ।

काठमाडौंका दर्जनौं पार्टी प्यालेस, घरलगायत संघसंस्थाका कार्यालयले सित्तैमा त्यो भीडलाई खानबस्न व्यवस्था गर्ने हौवा फैलाइएको थियो । प्रसाईं र उनका समर्थकहरू १० देखि १५ लाख जनता सडकमा ओर्लिने भन्दै दावा पेस गरिरहेका थिए ।

जसबाट त्रसित राज्यसंयन्त्र सीमानाकाहरूमा बाक्लो पहरा दिँदै खटिएको थियो । काठमाडौंका पार्टीप्यालेस, धार्मिक संघसंस्था, मन्दिर, व्यक्तिका घरहरूमा समेत प्रहरीले निरीक्षण गर्न थालेको थियो । विशेष सुरक्षा योजनाअन्तर्गत हज्जारौको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएका थिए । राष्ट्रिय अनुसन्धान विभागको टोलीलाई गुप्तचरीमा छ्यापछ्याप्ती छाडिएको थियो ।


प्रतिकृया दिनुहोस्