काठमाडौँ, पुस ६- कांग्रेस महामन्त्री गगन थापामाथि संस्थापन पक्षले प्रहरी परिचालन गरेर निगरानी गरेको छ । संसदीय दलको नेतामा उम्मेदवारी दिएका थापाको काठमाडौंको दुईवटा होटलमा रातभर निगरानी गरिएको हो । प्रहरी स्रोतका अनुसार लाजिम्पाट स्थित होटल एम्बेस्डर र नक्साल स्थित पाँचचारे होटल मेरियटमा थापा पक्षको गतिविधि निगरानी गर्न प्रहरी परिचालन गरिएको छ ।
निगरानीका लागि प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका प्रहरी खटिएका छन् । लाजिम्पाट स्थित होटल एम्बास्डरबाट थापाको सचिवालयमा कार्यरत सविन राज मुडभरीसहितका थापा समर्थकले दुईजना प्रहरीलाई समातेर सोधपुछ गरेका थिए । मंगलबार राति कांग्रेस समर्थकले सर्च गर्दा उनीहरुको साथमा प्रहरीको परिचयपत्र भेटिएको सविन राज मुडभरीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरी नायव निरिक्षक (सई) सरोज भण्डारी र जवान आशिष क्षेत्रीको परिचयपत्र फेला परेको छ । उनीहरु दुवैजना विशेष ब्यूरोमा कार्यरत छन् । विशेष ब्यूरोका प्रमुख डिआईजी अशोक सिंह हुन् । डीआईजी सिंहको आदेशमा गगनको निगरानीमा उनीहरु खटिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताए ।