Hamro Sanchar

पाथीभरा मन्दिरमा तीन महिनापछि भेटी गनिँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/७/८ गते

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी तीन महिनापछि गन्न थालिएको छ। जिल्ला समन्वय समितिको कोठामा साउनदेखि असोजसम्मको भेटी राखिएको थियो।

ताप्लेजुङको पाथीभरामा संकलित भेटी गणना गर्दै जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेनको संयोजकत्वमा भेटी व्यवस्थापन समिति गठन गरिएको छ। नगद राख्ने कोठामा क्यामेरा जडान गरिएको छ। पहिलोपटक सीसी क्यामेराको निगरानीमा भेटी गन्न शुरु भएको हो। मन्दिरमा संकलित रकम सदरमुकाम फुङलिङमा ल्याएर गणना गरिएको हो।

मंगलबारदेखि मादेन स्वयंसहित १३ जनाको समूहले गणना शुरु गरेको हो। गणनामा पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी, जिल्ला समन्वय समितिका कर्मचारी सम्मिलित छन्। पहिलो चरणमा एक हजार, पाँच सय र भारु पैसा छुट्याएको मादेनले बताए। भारु पैसा रङ लागे वा पानीले भिजेको भए सटहीमा समस्या हुने भएकाले पहिला छुट्याइएको हो। नेपाली पैसा पनि रङ नलगाउन, केरमेट नगर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

ठूला नोट छुट्याएपछि २०, १० र ५ का नोट मिलाउने र गणना गर्ने पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपानेले बताए। समितिले माथिल्लो फेदीबाट बोरामा लगाएर पैसा सदरमुकाम ल्याएको थियो। पाथीभरा मन्दिरमा भने त्यहाँ खटाइएका कर्मचारी र प्रहरीले संकलन गरेर माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरेका छन। प्रत्येक दिनको नोट पैसा फेदीसम्म ल्याइन्छ। सिक्का पैसा भने मन्दिरकै गोदाममा राखिन्छ।

तीर्थयात्रीले स्टिच पिन लगाएर पैसाको माला बनाएर पनि चढाएका छन्। कतिपयले हजाररहजार र पाँच सय रुपैयाँको एक मुष्ट पैसा चढाएको पाइएको न्यौपानेले बताए । सबैभन्दा बढी एकै जनाले ९ हजार ५ सय रुपैयाँ रबरले बाँधेर चढाएको भेटिएको थियो। साना पैसाको मुठा धेरै भेटिएको थियो।

अधिक तीर्थयात्री आउने दशैं–तिहार अघि र पछिको समयमा रकम पनि धेरै जम्मा हुने गरेको छ। अघिल्ला वर्षको तथ्यांक अनुसार दसैंको सिजनमा २० देखि ३० लाखको हाराहारीमा भेटी संकलन हुन्छ। चैते दशैंको सिजनमा पनि धेरै संकलन हुने गरेको छ। संकलित भेटीको रकम यही क्षेत्रको विकासमा खर्च गरिँंदै आएको छ।

मन्दिर जाने पैदल मार्ग बनाउने, मन्दिर परिसर फराकिलो पार्ने, थप संरचना निर्माण गर्नेजस्ता काम हुँदै आएका छन्। यो वर्ष भेटीकै रकम लगाएर मोटरबाटोसमेत स्तरोन्नति गरिएको छ। सुकेटारदेखि काफ्लेपार्टीसम्मको १२ किलोमिटर सडक मर्मत गर्न १२ जना सडक हेरालु, स्काइभेटर मेसिन, टयाक्टर राखेर खाल्टाखुल्टी भर्ने, पानी जम्न नदिने काम गरिएको छ।

प्रतिकृया दिनुहोस्