Hamro Sanchar

निर्मला हत्या प्रकरणका एसपी विष्ट र इन्सपेक्टर भट्ट बर्खास्त ( पत्रसहित)

प्रकाशित : २०७५/७/८ गते

गृह मन्त्रालयले निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रालयले आज प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।

प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्ती जारी गरेर गृह मन्त्रालयले सोधेको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नआएपछि बर्खास्त गरिएको जानकारी दिनुभएको छ ।

दुवै  प्रहरी अधिकारीलाई प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को देहाय (क) को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) १ बमोजिम बर्खास्त गरेको जनाइएको छ । साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको थियो ।

सो घटनामा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख भट्टले अनुसन्धानमा लापरवाही गरेको भेटिएको थियो । सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो ।

प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार दिउँसो एसपी विष्ट र भट्टको दोस्रो स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको थियो । प्रहरी प्रधान कार्यालयले दशैंअघि नै दुवैलाई सेवाबाट हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

गृह मन्त्रालयले छानबिनमा लापरवाही गरेको अभियोगमा दुवै प्रहरीलाई बर्खास्त गरेपनि निर्मला हत्या प्रकरणका मुख्य दोषीबारे अझै पनि केही पत्ता लाग्न सकेको छैन । निर्मला पन्तका बलात्कारी–हत्यारालाई कारवाही गर्न माग गर्दै देशभर ठूलो आन्दोलन भएको थियो ।

प्रतिकृया दिनुहोस्