Hamro Sanchar

गुण्डागर्दी शैलीमा सर्वसाधारण कुट्ने वडाअध्यक्ष २० हजार धरौटीमा छुटे

प्रकाशित : २०७५/७/८ गते

ओखलढुंगा, कात्तिक ८- सर्वसाधारणलाई गुण्डागर्दी शैलीमा कुटपीट गर्ने मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ थाक्लेका वडाअध्यक्ष हेमराज राई धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा २० हजार धरौटी बुझाएर राई छुटेका हुन् । मादक पदार्थ पिएर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई कात्तिक ४ गते पक्राउ परेका थिए ।

उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो । राजनीतिक दबावपछि उनलाई हतार हतार काजगपत्र मिलाएर धरौटीमा छोडिएको पीडितले बताएका छन् ।

अनुसन्धान सकिएपछि धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र पौड्यालले बताए । बुधबार साँझ ६ बजे राईलाई थुनामुक्त गरिएको थियो । स्थानीय तहको चुनाव अघिसम्म राईले यातायात क्षत्रेमा गुण्डागर्दी गर्दै आएको स्थानीयको आरोप छ ।

प्रतिकृया दिनुहोस्