Hamro Sanchar

सुनको मूल्य ६ वर्षयताकै महंगो, प्रतितोला ६० हजार चार सय पुग्यो

प्रकाशित : २०७५/७/८ गते

काठमाडौँ, कात्तिक ८- नेपाली बजारमा सुनको भाउ ६ वर्षयताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा विहीवार भएको कारोबार अनुसार सुनको भाउ प्रतितोला ६० हजार चार सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन बुधबार भन्दा ३ सय रुपैयाँले उकालो लाग्दै छापावाल सुन बिहीबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको हो ।

तेजाबी सुनको भाउ पनि बिहीबार उकालो लागेको छ। तेजाबी सुनको भाउ बिहीबार ६० हजार १ सय रूपैयाँ रह्यो । तेजाबी सुन बुधबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले अन्तर्राष्ट्रिय बजारमा अमेरिकन डलर मजबुत बन्दै गएपछि सुनको भाउ पनि निरन्तर बढेको बताए ।

भारत र नेपाल दुवै देशमा दसैँ र दीपवालीको समयमा सुनको अत्यधिक माग हुने गरेको छ । भारतमा दीवाली भनिने दीपवालीमा भारतमा सुनको खपत अन्य बेलाभन्द झन्डै दोब्बर हुने गरेको छ।

सुनको मूल्य कीर्तिमानी उचाईमा पुगेसँगै गहन पसलमा ग्राहकको आकर्षण घटेको छ। सुनको मूल्य आकाशिँदा खरिद गर्नेको संख्या पनि घटेको व्यवासयीहरुको भनाई छ ।

तिहार (भारतमा दीवाली) आउन अझै बाँकी रहेकाले सुनको भाउ अझै उँभो लाग्ने व्यवासयीहरु बताउँछन् । निरन्तर भाउ बढेपछि सुन किन्न तम्तयार ग्राहक पनि हच्किएका छन् ।

गत असोज २६ गते सुनको मूल्य नेपाली बजारमा ६० हजार थियो । त्यसपछि सुनको मूल्य बढिरहेको हो । यसअघि नेपाली बजारमा २०६९ भदौमा सुनको भाउ कीर्तिमानी उचाईमा पुगेको थियो ।

प्रतिकृया दिनुहोस्