Hamro Sanchar

जनप्रतिनिधिले स्कुल भत्काईदिएपछी सडकमै सुरु भयो पढाई

प्रकाशित : २०७५/७/८ गते

मनिका झा

जनकपुरधाम, कात्तिक ८- जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था स्थित राजर्षी जनक माध्यमिक विद्यालयको अगाडि सडकमा बिहीबार अनौठो दृश्य देखियो ।

नियमित झैँ १० बजे सडकमै घण्टी बज्यो । विद्यार्थीहरु सडकमै डेस्क–बेन्च राखेर त्यहीँ किताब फिँजाएर बसेका थिए । शिक्षकहरु चक, डस्टर सहित सडकमै उपस्थित भए । र सडकमै उभिएर पढाउन थाले ।

यस्तो देख्दा स्थानीय दंग परे । राजर्षी जनक माध्यमिक स्कुलका शिक्षक–विद्यार्थीका लागि भने यो बाध्यता थियो । साथै शांकेतिक विरोध पनि । यहाँका जनप्रतिनिधिले वडा कार्यालय जोगाउन भन्दै विद्यालय भवन नै भत्काइदिएपछि शिक्षकहरु सडकमै नियमित कक्षा संचालन गर्न बाध्य भएका हुन् । उनीहरुले यसलाई शांकेतिक विरोधको रुपमा पनि अथ्र्याएका छन् ।

वडा कार्यालयको भवन सडक निर्माणका लागि भन्दै स्थानीय जनप्रतिनिधिको दबावमा गत वैशाखमै स्कुल भत्काइएको थियो । हुलाकी सडक अन्तरगत जनकपुर–लोहारपट्टी सडकखण्डमा पर्ने यस विद्यालयको भवन सडकभित्र नपरे पनि वडा कार्यालय जोगाउनका लागि जनप्रतिनिधिले जबर्जस्ती भत्काउन लगाएको बताउँछन् विद्यालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद यादव ।

स्थानीय युवा क्लव तथा अभिभावकले समेत जनप्रतिनिधिको यस्तो गतिविधिको विरोध गर्दैआएका छन् । साविकको नक्सामा सो सडक ५८ फिट कायम गरिएको र हाल निर्माणाधिन सडक पनि मात्र ४२ फिट चौडा हुने भएको अवस्थामा स्कुल भवन भत्काउनु अव्यवहारिक रहेको स्थानीयको गुनासो छ ।

३ बिग्घा १५ कठ्ठामा फैलिएको विद्यालयको परिसरमै एउटा पोखरी समेत छ । जसमा प्रतिवर्ष १३ देखि १५ लाख सम्ममा माछाको ठेक्का लाग्ने गरेको छ । हाल बहुमुल्य विद्यालयको जग्गा र पोखरी हात पार्नका लागि वडाध्यक्ष रामेश्वर महासेठद्धारा सडक निर्माणको नाममा विद्यालयलाई नै उठाउने काम गरिएको स्थानीय योगेन्द्र रायको आरोप छ । विद्यालय भवन भत्काइएदेखि यहाँ अध्ययनरत ६ सय विद्यार्थीहरुको शैक्षिक भविस्य अन्योलमा परेको भन्दै शिक्षकहरु आन्दोलित बनेका हुन् ।

यसअघि स्थानीयवासी तथा शिक्षकहरुले विद्यालय भत्काएको विरोधमा उपमहानगरपालिका, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडी नारा जुलुश गर्दै विरोध प्रदर्शन गरेका थिए ।

सुनुवाई नभएपछि सडकमै कक्षा संचालन गर्न बाध्य भएको उनीहरुको भनाइ छ । वडाध्यक्ष महासेठले भने स्थानीयवासीले सडक विस्तार तथा पीसीसी सडक निर्माण गर्ने स्थानीयहरुको निर्णय अनुसार विद्यालय भवन भत्काउनु परेको दावी गर्दै आएका छन् । यो खबर अन्नपूर्णबाट लिएका हौ ।

प्रतिकृया दिनुहोस्