Hamro Sanchar

बिपी राजमार्ग पुनर्निर्माणमा जापानले एक अर्ब ८५ करोड अनुदान दिने

प्रकाशित : २०७५/७/८ गते
काठमाडौं, कात्तिक ८- जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब ८५ करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मिसामिची साईगोबीच बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई उपलब्ध गराइने आर्थिक सहायतासम्बन्धी सम्झौता पत्रमा विहीबार हस्ताक्षर भएको हो ।

अर्थ मन्त्रालयका आयोजित एक कार्यक्रमका बीच गरिएको सम्झौंता अनुसार आगामी सन् २०२० भित्र बीपी राजमार्गको १ सय ६० किलोमिटर भित्रको २० ठाउँमा भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माण सम्पन्न गर्नुपर्नेछ ।

सन् २०२० भित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी जापान सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि सो अनुदान सहायता उपलब्ध गराउने भएको अर्थ सचिव डा. खनालले जानकारी दिए ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले सो राजमार्ग अन्तरगत २० वटा ठाउँ भाँसिएको थियो । जापान सरकारकै आर्थिक सहायतामा निर्माण गरिएको सो राजमार्ग २०७१ सालदेखि संचालनमा आएको थियो ।

प्रतिकृया दिनुहोस्