Hamro Sanchar

कर्मचारीको कुर्सीमै बसेर फाइल पल्टाउँछन् दलाल, यातायातमा दलाल बिना कामै बन्दैन

प्रकाशित : २०७५/७/७ गते

सन्तोष यादव

जनकपुरधाम, कात्तिक ७- जनकपुरका टेम्पु संचालक बजरंग मण्डलले गाडी बिक्री गरेपछि बुधबार यातायात कार्यालयको सम्बन्धित फाँटमा गएर नामसारीको लागि कर्मचारीलाई आग्रह गरे ।

तर कर्मचारीले वास्तै गरेनन् । उनी बाध्य भएर दलाल समक्ष पुगे । दलालले उनलाई सबै काम गरिदिने भन्दै १८ सय माग्यो । उनी राजी भए । ती दलाल सरासर कार्यालय पसे । फाइल राखिएको कोठा खुल्लै भए पनि कर्मचारी कोही थिएन । दलालले आफैँ फाइल खोज्न थाले । घण्टौं खोजे तर नभेटेपछि सेवाग्राही मण्डल पनि फाइल खोज्न थाले । उनी पनि घण्टौँ लगाएर सयौं फाइल पल्टाए । तर उनको आफ्नो फाइल भेटिएन । उनले भने, ‘फाइल लथालिंङ यत्रतत्र फालिएकोले भेटिएको छैन ।’

अर्का सेवाग्राही विमलेश मण्डल पनि आफ्नो गाडीको फाइल खोज्न त्यही कोठामा व्यस्त थिए । उनी भन्दै थिए, ‘कर्मचारीलाई भन्दाभन्दै थाकिसकेँ । तर वास्तै गर्दैनन् । त्यसैले आफैँ फाइल खोज्दैछु ।’

कर्मचारीले लापरवाही गरी बेवास्ता गर्दा उनीहरु झैँ यहाँ हरेक दिन थुप्रै सेवाग्राही दलालको सहायता लिन बाध्य छन् । विमलेशले भने, ‘विना कमिशन र विना दलाल यहाँ कुनै काम हुँदैन ।’

सेवाग्राहीको फाइल खोज्ने जिम्मा कार्यालय सहयोगी विनय ठाकुरको हो । तर उनलाई भेट्नै मुस्किल पर्छ । फाइल कोठामा बसेका बेला समेत कास ठाकुरले सेवाग्राहीलाई नै खोज्न अहउने गर्छन् । फाइलहरु व्यवस्थितसँग राख्ने जिम्मेवारी पनि उनकै भए पनि कसैले मतलब राख्दैन ।

गाडीको महत्वपूर्ण कैयौं फाइल जताततै फालिएका देखिन्छन् । कार्यालय निमित्त प्रमुख कोपेन्द्र यादव भने फाइलहरु व्यवस्थित बनाएर राखेको दावी गर्छन् । उनका अनुसार पहिले रेडक्रस भवनमा कार्यालय थियो । त्यो भवन चुहिएर कतिपय फाइल नोक्सान भयो । त्यही भएर कतिपय फाइल नभेटिएको उनको जिकिर छ । त्यसो त पानीका कारण केही महत्वपूर्ण कागजात नोक्सान भएका कारण समस्या भइरहेको कर्मचारीहरु बताउँछन् ।

निमित्त प्रमुख यादवले कार्यालयमा कुनै कर्मचारीले सेवाग्राहीबाट रकम नलिने गरेको पनि दावी गरे । भने, ‘बाहिरको मानिसलाई कोही सेवाग्राहीले आफैँ दिन्छ भने म केही गर्न सक्दिन । यदी कोही कर्मचारीले घुस लिएको हो भने तुरुन्त कारबाही गर्छु ।’ दलाललाई कार्यालयमा प्रवेश समेत गर्न नदिएको उनले दावी गरे ।

जब कि, दलालहरु कर्मचारीको कुर्सीमै बस्ने गरेको सेवाग्राही बताउँछन् । यति सम्म कि, कार्यालय बाहिर मात्र नभएर दलालहरु कोठा–कोठामै सेवाग्राही खोज्दै हिँड्छन् ।

कर्मचारीले काम गर्न आनाकानी गर्ने वित्तिकै दलालले सेवाग्राहीसँग बार्गेनिङ सुरु गर्छन् । कुरा मिलेपछि आनाकानी गर्ने कर्मचारीबाटै दलालले सेवाग्राहीको काम सहजै गरिदिने गरेको सेवाग्राही विमलेशले बताए ।

स्थानीय एक युवकले भने, ‘यहाँका सबै कर्मचारी र दलाल मिलेका छन् । सेवाग्राही एउटा कामका लागि ४÷५ दिन दौडन्छ । तर त्यही काम दलाल मार्फत गराएमा एकै छिनमा हुन्छ ।’

कर्मचारी अभाव

कार्यालय दुई वर्षदेखि प्रमुख विहिन छ । कार्यालय प्रमुखको कार्यकक्ष ढोकामा माकुराले जालो बुनिसकेको छ । कुल २४ जनाको दरबन्दी रहेकोमा कार्यालय प्रमुख, एक शाखा अधिकृत र एक मेकानिकल सुपरभाइजर लामो समयदेखि नरहेको निमित्त प्रमुख यादवले बताए । उनका अनुसार कर्मचारी अभावका कारण कामकाज प्रभावित बनेका छन् । यो खबर अन्नपूर्णबाट लिएका हौ ।

प्रतिकृया दिनुहोस्