Hamro Sanchar

गाउँपालिका अध्यक्षले नै प्रहरी कुटे, भन्छन्- प्रहरी रमिते बनेपछी एक झापड हानेको हूँ

प्रकाशित : २०७५/७/७ गते

राधाकृष्ण डुम्रे

स्याङ्जा, कात्तिक ७– स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गरेका उज्यालो अनलाइनमा खबर छ ।

हरिनासकै वडा नम्बर –६, दग्दीमा भएको भलिबल प्रतियोगितामा सामान्य विवाद हुँदा अध्यक्ष मानन्धरले प्रहरीमाथि हातपात गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

आक्रमणबाट दार्सिङ प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरी घाइते भएका छन । क्याक्मी र दार्सिङका युवाहरुबीच भएको खेलका क्रममा विवाद उत्पन्न भएको थियो । त्यो विवादलाई रोक्न नसकेको भन्दै प्रहरीमाथि आक्रमण भएको हो ।

घटनाबारे छानबिन भैरहेको स्याङजाका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिए । उनले दुई पक्षको बीचमा विवाद साम्य पार्न खोज्दा प्रहरीमाथि नै ठेलमठेल भएको बताए । प्रहरी प्रमुख सापकोटाले गाउँपालिका अध्यक्ष मानन्धरलाई प्रहरी चौकी बोलाइएको जानकारी दिए ।

घाइतेको मेडिकल रिपोर्ट तथा घटनाबारे सबै विवरण पेस गर्न प्रहरीलाई निर्देशन दिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । उनले गाउँपालिकाका प्रमुख स्थानीय सरकार प्रमुखसमेत भएका भन्दै कानुन हातमा लिने काम कोही कसैबाट हुन नहुने स्पष्ट पारे ।

गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि एक झापड हानेको स्वीकार गरेका छन । उनले प्रहरी नै आक्रमणकारीको संरक्षणमा लागेकाले घटना हुन पुगेको आरोप लगाए ।

उनले दार्सिङका युवाहरुले हातहतियारसहित आक्रमण गर्दा प्रहरी रमिते बनेको वताए । उनले आफ्ना माइला दाजु सोमनारायण मानन्धरमाथि आक्रमण हुनुका साथै कार्यक्रम स्टेज, कुर्चीहरु तथा साउण्ड सिस्टममा तोडफोड गरिएको जानकारी दिए ।

मानन्धर तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिकृया दिनुहोस्