Hamro Sanchar

दर्जनौंलाई घरवारविहीन बनाउने ‘सिरियल ठग’ पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/७/७ गते

 सर्वसाधारणलाई झूटो सपना देखाएर करोडौं ठगी गर्ने डीएन कोइराला भनिने दिनेश कोइरालालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बिहान पक्राउ गरेको छ । दोलाखा मोलुङ गाउँपालिका–९ पोवटी घर भई हाल काठमाडौं–३२ कोटेश्वर बस्ने कोइरालालाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । कोइरालालाई बैंकिङ कसुर ठगी मुद्दामा पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

कोइरालाले विभिन्न बहाना बनाई विदेश पठाउने, जग्गाजमिनको कारोबार गर्ने, व्यापारव्यवसाय गर्ने भन्दै करोडौं ठगी गरेका छन् । खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ बस्ने श्याम खड्काको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । योसँगै कोइरालाविरुद्ध महाशाखामा ठगीको दर्जनौं उजुरी समेत परेको छ ।

कोइरालाले ‘एकको दुई’ बनाइदिने सपना देखाउँदै सर्वसाधरणको करोडौं ठगेका हुन् । कोइरालाले सामूहिक लगानीको माध्यमबाट व्यवसाय गरेर छोटो समयमै कमाउन सकिने लोभ देखाएर करिब दुई दर्जन व्यक्तिलाई ठगेको महाशाखाले जनाएको छ । कोइरालाले कानेपोखरी मोरङका उमेश घले गुरुङबाट डेढ करोड, अमरदह राजघाट उर्लाबारी मोरङका कृष्ण धिमालबाट डेड करोड, इटहरी–५ सुनसरीका सहदेव गुरुङबाट २९ लाख, उर्लाबारी राजघाट–९ मोरङका शिबलाल पुरीबाट ९९ लाख ठगेको बताइएको छ ।

यसैगरी, दुर्गापुरी राजघाट–८ मोरङका विष्णु धिमालबाट डेढ करोड ठगेका उनले इटहरी–४ सुनसरीका चेतराज भट्टराईबाट ५ लाख, दुर्गापुरी राजघाट–८ उर्लाबारी मोरङककी रीता मगरबाट २ करोड, दुर्गापुरी राजघाट–८ उर्लाबारी मोरङकी दीपा धिमालबाट २ करोड, दुर्गापुरी राजघाट–८ उर्लाबारी मोरङका दुर्गा धिमालबाट ४० लाख ठगेको जनाइएको छ ।

यसैगरी, उनले सिजुवा–२ मोरङका निर्मल खड्काबाट १ करोड ४० लाख ठगेका छन् । अपराध महाशाखाका अनुसार इटहरी–८ सुनसरीका यशोधा भट्टराईबाट ३० लाख ठगेका कोइरालाले झापाका सोले धिमालबाट ५० लाख, इटहरी–४ का भवननाथ भट्टसँग १५ लाख ठगेका छन् । यस्तै, उर्लाबारी राजघाट–८ मोरङका सर्वसाधारणको घरबार नै उठेको छ । यस्तै, इटहरी सुनसरीका लक्ष्मी भट्टराईबाट ८० लाख, रतुमाई नगरपालिका मोरङका निर्मल खड्काबाट १ करोड ३९ लाख ठगेका छन् ।

ठगी अभियोगमा पक्राउ परेका कोइराला नेपाली कांग्रेस दोलखाका कार्यकर्ता सिताराम कोइरालाका छोरा हुन् । सुरुमा काठमाडौंमा सामान्य व्यवसाय गर्दै आएका कोइरालाले मोरङ उर्लाबारी पुगेर आफूलाई ‘हाई प्रोफाइल’को व्यवसायी भन्दै कृषि फाराम स्थापना गर्ने भन्दै पैसा संकलन गरेको राजधानी दैनिकमा खबर छ  ।

कानेपोखरी मोरङका पीडित उमेश घले गुरुङका अनुसार उनले कृषि फारम खोल्ने भन्दै पैसा मागे । उनले लगानी गर्न साथ दोब्बर हुने भन्दै परियोजनाबारे सुनाए । उमेश भन्छन्, ‘मलाई उनको योजना राम्रो लाग्यो, आफ्नो पनि आम्दानी होला कि भनेर डेढ करोड दिएँ ।’

कोइरालाका नजर विशेष गरेर सोझा धिमालहरूमा गएको देखिन्छ । केही चलाख धिमाललाई हातमा लिएर उनीहरूलाई नै प्रयोग गर्दै कोइरालाले आफ्नो ठगी धन्दा फैलाएको बताइन्छ । कोइरालाले रामप्रसाद धिमाललाई हात लिई सोझासिधा धिमालहरूलाई घर न घाटको बनाएका हुन् । उनले उर्लाबारी राजघाट–८ मोरङका रामप्रसाद धिमालका माध्यमबाट धिमाल बस्तीमा ठग्न सुरु गरेका हुन् ।

प्रतिकृया दिनुहोस्