Hamro Sanchar

यसपालीको “दशैं” दशा : घटस्थापनादेखि एकादशीसम्म २१६ सवारी दुर्घटना, ३८ को मृत्यु

प्रकाशित : २०७५/७/६ गते

काठमाडौं, कात्तिक ६- दसैंको उमङ्ग बोकेर कार्यथलोबाट जन्मथलो हिँडेका धेरै सडक दुर्घटनामा परे । घटस्थापनादेखि एकादशीसम्म भएका २ सय १६ दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाए । ६१ जना गम्भीर घाइते छन् भने एक सयभन्दा बढी सामान्य घाइते भए ।

दुर्घटनामा परी मृत्यु एवम् घाइते हुनेमा दसैंको किनमेल गर्न बजार हिँडेकादेखि सहरबाट दसैं मान्न गाउँ फर्कनेहरु छन् । मृत्यु भएका परिवारको दसैं शोकमा वित्यो भने घाइतेले अस्पतालको शैय्या छट्पटाउँदै दसैं अवधि विताए ।

नुवाकोट खरानीटारका सूर्यबहादुर तामांग असोज २४ गते दसैंका लागि घर झिलिमिली बनाउन विजुलीको सामान किन्न स्थानीय बटार बजार हिँडेका थिए । तर, बजार नपुग्दै उनी दुर्घटनामा परे । सवारी दुर्घटनामा परी उनको मेरुदण्ड र घाँटीमा गम्भीर चोट लागेको छ । उनको अहिले काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै दसैंका लागि छोराछोरीलाई नयाँ कपडा किन्न हिँडेकी सुगन्धा अधिकारीको अवस्था पनि उस्तै छ । नुवाकोट खरानीटारकै सुगन्धाले पनि अस्पतालको शैय्यामा कष्टसँग दसैं अवधि विताइन् । यातायात समितिले उनको उपचार खर्च त ब्यहोरिरहेको छ । तर, खानालगायत अन्य खर्चको बिल १७ हजार भन्दा बढी भइसकेको छ ।

सूर्यबहादुर र सुगन्धा त प्रतिनिधि पात्र मात्रै हुन् । दसैं अवधिभरमा देशभर २ सय १६ वटा सवारी दुर्घटना भयो । दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाए । ६१ जना गम्भीर घाइते छन् भने सय भन्दा बढी सामान्य घाइते भए । गम्भीर घाइते भएका सबैले अस्पतालको शैय्यामा छट्पटाउँदै दसैं अवधि विताए । उनीहरुलाई दसैं दसा जस्तै भयो । शारीरिक पीडा त छँदैछ, वर्षदिनको ठूलो चाड मान्न नपाउँदा र आफन्त भेट्न नपाउँदाको बेग्लै पीडा छ, उनीहरुसित । घाइतेप्रायको एउटै गुनासो छ कि, सवारी चालकको लापरबाही र सडकको दूरावस्थाका कारण दुर्घटनामा परियो ।

ग्रिनसिटी अस्पतालमा नुवाकोटका मात्रै दसैं अवधिमा घाइते भएका १२ जनाको उपचार भइरहेको छ । त्यस्तै काठमाडौंकै महाराजगंजस्थित शिक्षण अस्पतालमा सवारी दुर्घटनामा परी घाइते भएका १२ देखि १५ जना विरामी उपचारका लागि आएको तथ्यांक छ । दसैं, तिहार, छठजस्ता ठूला पर्वमा वर्सेनि सडक दुर्घटना बढीरहेको छ । तर, दुर्घटना न्यूनीकरण गर्न राज्यस्तरबाट प्रभावकारी काम भएको छैन । र, ट्रफिक प्रहरीले चाडपर्व विशेष ल्याउने सुरक्षा रणनीति पनि निष्प्रभावी हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्