Hamro Sanchar

दमाईको दशैं

वस्तु विनिमयकै युगदेखि शुरू भएको बालीघरे प्रथामा काम गरेबापत अन्न–मासु दिनु स्वाभाविकै हो, तर मासुका नाममा पुच्छर दिनु जातीय विभेद र श्रमशोषणको एक उदाहरण हो ।

ध्रुवसत्य परियार प्रकाशित : २०७५/७/६ गते

फुपूको घरको आँटी सुँगुरका पुच्छरले भरिएको थियो । त्यो देखेपछि छक्क पर्दै सोधें, “फुपू, यत्तिका पुच्छर कहाँबाट आए ?”

“बिष्टहरूबाट दशैंको भाग पाएको बाबु ।”

सानो छँदा एकपटक दशैंलगत्तै पाल्पाको खालीवनस्थित फुपूको घर गएको थिएँ । फुपाजुले त्यतिबेला बालीघरे प्रथामा सिलाउने काम गर्नुहुन्थ्यो ।

सिलाएबापत उहाँले त्यहाँका मगर समुदायबाट वर्षमा एकपटक बाली (तोकिएको मापनमा अन्न) र चाडपर्वमा उनीहरूको खानेकुरा मध्येबाट केही भाग पाउने चलन रहेछ ।

विशेषतः दशैंमा नयाँ लुगा सिलाउने, पुराना र च्यातिएका ओढ्ने–ओछ्याउने लगायत लत्ता–कपडा टाल्ने काम अरूबेला भन्दा बढी हुन्थ्यो । त्यसैले यस अतिरिक्त कामका लागि दमाईलाई दशैंको भाग दिइँँदो रहेछ ।

मैले फुपूलाई सोधें, “किन पुच्छर दिएका, अरू राम्रो मासु नदिएर ?”

“दमाईलाई यस्तै दिने चलन छ । राम्रो मासु उनीहरूले खान्छन् नि !” फुपूको जवाफ थियो ।

त्यतिबेला मलाई सामान्य लागेको यो घटना पछि बुझदै जाँदा गम्भीर लाग्न थाल्यो । वस्तु विनिमयकै युगदेखि शुरू भएको बालीघरे प्रथामा काम गरेबापत अन्न–मासु दिनु स्वाभाविकै हो, तर मासुका नाममा पुच्छर दिनु जातीय विभेद र श्रमशोषणको एक उदाहरण हो ।

खैर, मीठो खाने र राम्रो लगाउने चाड दशैंमा विशेषतः दमाईहरूलाई भ्याई–नभ्याई भएको म देख्थें ।

१०–१२ वर्षको भएदेखि नै हो, दशैंको नौरथा शुरू भएपछि हजुरबाले भन्नुहुन्थ्यो, “आफू सुत्ने कोठामा दुर्गा भवानीको मूर्ति स्थापना गर् । बिहानै पँधेरामा गएर नुहाएर आइज । अनि, फूलपाती, अक्षताले दुर्गा भवानीको पूजा गरेर मात्रै खाना खा । सप्तमी, कालरात्रि र दशैंको दिन माथि कोटमा बाजा बजाउन जा । दुर्गा भवानीको कृपाले शक्ति प्राप्त हुन्छ, पूजामा ठूलो शक्ति छ ।”

हालको स्याङ्जाको चापाकोट नपा–२ मा रहेको हाम्रो त्यतिबेलाको घरभन्दा माथि (अहिले हामी केही तल बसाइँ सर्‍यौं) ठकुरी गाउँमा कालिका देवीको मन्दिर छ । त्यहाँ दमाईहरूले फूलपाती, कालरात्रि र दशमीको दिन बाजा बजाउँथे, अझैं पनि बजाउँछन् ।

सानोमा म पनि घरमा भएका बाजा लिएर कोट जान्थें । हाम्रो घरमा एकसरो दमाहा, ट्याम्को, सहनाई, झयाली, ढोलकी, कर्णाल, नरसिङ्गा र बिगुल थियो, तर हजुरबा बूढो हुँदै जाँदा बजाउने कोही नभएकाले ती बाजा थन्किएका थिए । अरू दमाईहरूले हाम्रोमा भएको बाजा लिएर आउन भन्थे, म बोकेर जान्थें ।

मलाई झ्याली, ट्याम्को, दमाहा बाहेक अरू बजाउन आउँदैनथ्यो । दमाईले बाजा ९नगरा० नबजाएसम्म कोटमा पूजा हुँदैनथ्यो, तर बजाउने दमाईमाथि जातीय छुवाछूत हुन्थ्यो । समाजमा छुवाछूत अझैं पनि हटेको छैन ।

कोट लगायत बिहे–उत्सवमा बाजा बजाउने दमाईहरूलाई केही खराब केटाहरूले ‘यस्तो बजा, उस्तो बजा’ भनेर लात्तीले हिर्काउँथे । छुवाछूत पनि हुने र बजाउने दमाईलाई सम्मान नगरेको पाएपछि बजाउनमा मेरो रुचि घट्दै गयो । जेहोस्, जब कोटमा सप्तमी र कालरात्रिको दिन नौमती बाजा घन्कन्थ्यो, सारा गाउँलाई लाग्थ्यो– दशैं आयो !

गाउँ वरपरका दमाईहरूको दशैंमा विशेष माग र महत्व थियो । अहिले त बजार विस्तारसँगै लुगा सिउने र बाजा बजाउने पेशा अन्य जातिले अँगाल्दैछन् । यी दुवै पेशा नअपनाउने अरू दमाईहरू गाउँघरमै कृषि–मजदूरी वा देशभित्रै र भारत गएर अन्य काम गर्थे ।

मेरो बुवा पनि भारतमा काम गर्नुहुन्थ्यो । घर छाडेर बाहिर काम गर्न गएकाहरू दशैंमा घर आउँथे । आउन नपाएकाहरूले चिठी, पैसा, लत्ताकपडादेखि मरमसलासम्म पठाउँथे ।

थर–गोत्र उत्पत्तिको भूगोल, इतिहास, पौराणिक साहित्य आदिले हिन्दू धार्मिक समुदायसँग आजका दमाई जातिको प्राचीनकालदेखि नै अन्योन्याश्रित सम्बन्ध रहेको देखाउँछ । त्यही धार्मिक परम्पराभित्र जातीय विभेदमा परेका दमाई जाति लगायत दलित समुदायले हिन्दू धर्मावलम्बीको पर्व दशैंलाई आस्थाका साथ मान्दै आएका छन् ।

नेपालका जातीय संस्कार खण्ड–२ पुस्तकमा समाविष्ट प्रकाश दर्नालको आलेख अनुसार, दमाई जातिको प्रचलित संस्कारमा हिन्दू धर्मको गहिरो प्रभाव देखिए पनि कतैकतै जनजातिहरूको संस्कार पनि मिसिएको पाइन्छ ।

आजका दमाई जातिले बडादशैं अन्तर्गत दशमीको दिनदेखि पूर्णिमासम्म आफ्नो खलकका पाका–पुराना सदस्य, ठूलाबडा र नातेदारकहाँ गएर दशैंको टीका लगाउँछन् ।

दमाई जातिको दशैंको खानामा विशेषतः मासु–भात, सेलरोटी र मदिरा पनि हुने गर्छ । मासुमा परिवारको गच्छे र समाज अनुसार, राँगा–भैंसी, सुँगुर, कुखुरा, खसी–बाख्रा चल्छ ।

हिन्दू धर्मावलम्बी भएकाले पञ्चबलि गरी पाठा, परेवा पनि खान्छन् । दशैंमा दमाईहरूका दाजुभाइ वा गाउँले मिलेर भैंसी काट्ने चलन छ । पछिल्ला वर्षहरूमा कतिपय ठाउँमा यो चलन हट्दै गएको छ ।

कोट र पञ्चैबाजा
हाम्रो गाउँ (स्याङ्जाको चापाकोट नगरपालिका–२, ठकुरीगाउँ) मा कोटमा जमरा राखेपछि दशैं शुरू हुन्छ । त्यसपछि सप्तमीको दिन कोटमा नजिकैको पीपलको रूखबाट फूलपाती भित्र्याइन्छ । कोटमा खुँडा, भाला, तरबार लगायत पुराना हातहतियार छन् । अष्टमीको दिन ती हतियार सफा गरेर पुजिन्छ । त्यसपछि कालरात्रिको पाठो बलि दिइन्छ ।

वडा–२ का स्थानीय रामचन्द्र अधिकारी ९५६० का अनुसार, नवमीको दिन लिपपोत गरिएको मौलो वरपर नौ वा ११ वटा रेखी राखेर बलिका लागि फलफूल राखिन्छ । त्यसपछि पञ्चबलि शुरू हुन्छ ।

पूजाका लागि एक जना ठकुरी र एक जना मगर युवक खटाइएको हुन्छ । मनोकांक्षा राखेर देवीसँग भाकल गरेका वरपरका गाउँलेले पञ्चबलि वा फूल–अक्षता लिएर आउँछन् ।

दशैंको दिन पनि नजिकका मानिस कोटमा जम्मा भएर साइतको टीका लगाउँछन् । चापाकोट नपा–२ का वडाध्यक्ष सूर्यबहादुर सेनका अनुसार, यहाँ कोटको स्थापना कहिले भयो भन्ने यकिन जानकारी नभए पनि धेरै पहिलेदेखि दशैंको बेला देवीको पूजा हुँदै र पूजामा दमाईहरूले बाजा बजाउँदै आएका छन् । उनका अनुसार, अहिले नगरपालिकाले यहाँका दमाईहरूलाई एक सेट नौमती बाजा उपलब्ध गराएको छ ।

प्रयोगात्मक नेपाली शब्दकोशमा कोटरकोतको अर्थ ‘सुरक्षाका लागि बनाइएको किल्ला, दुर्ग, गढी, मौलो पुज्ने ठाउँ । हातहतियार, खरखजाना आदि राख्ने ठाउँ वा घर’ उल्लेख छ । हाम्रो देशमा यस्ता कोट वा देव–मन्दिरहरू ठाउँ–ठाउँमा स्थापना गरिएका छन् ।

संस्कृतिविद् रामशरण दर्नालका अनुसार, मंगल कार्य, उत्सव र मन्दिरहरूमा दमाई जातिले बजाउँदै आएको पञ्चैबाजा पञ्चतत्व, पञ्चधातु र पाञ्चायन देवताको प्रतीक हो ।

उनको पुस्तक नेपाली संगीत–संस्कृति अनुसार, पृथ्वीनारायण शाहले नगरा बजाउने दमाई जातिको व्यक्तिलाई नगर्ची पदले सम्मानित गरी वैदिक बाजा पञ्चैबाजा र नौमती बाजालाई धार्मिक संगीतको रूपमा मन्दिरहरूमा बजाउन लगाएका थिए ।

दशैं विशेषतः रामायणका पात्र रामको लंका विजय र शक्ति उपासनाकी देवी दुर्गा भवानीसँग सम्बन्धित छ । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, विजयादशमीको दिन भगवान रामचन्द्रले शक्तिस्वरुपिणी दुर्गा भवानीको आराधना गरी दुष्ट रावणलाई मारी विजय प्राप्त गरेको अनुश्रुतिले भन्छ ।

मनुबज्र बज्राचार्यको पुस्तक हाम्रा चाडपर्वहरूको विवेचना अनुसार ‘अयोध्यावासी रामचन्द्रले लंका विजय गर्न धेरै वर्षसम्म ठूलो शक्ति र धैर्यले अनेक परिस्थितिको सामना गर्नुपरेको रामायणमा उल्लेख छ ।

यसकारण विजयको अभिलाषा गर्ने हामी नेपाली जनताको हृदयमा दशैंप्रतिको भावना अत्यधिक रुचिकर हुनु नैसर्गिक कुरा हो । तर, विजयका लागि गुप्तचर शक्तिको आवश्यक हुन्छ ।’

दशैंमा धेरै पहिलेदेखि नै तान्त्रिक शक्तिहरूको प्रभाव रहेको लिच्छवि राजा मानदेवको समयमा स्थापना भएको पलाञ्चोक भगवतीको मूर्तिले संकेत गर्ने बज्राचार्यले उल्लेख गरेका छन् ।

शासकहरूले तान्त्रिक अभ्यास गरेको मल्लकालमा अझ बढी पाइन्छ । बज्राचार्य लेख्छन्, “दशैंमा सैनिक संस्थानहरूको तर्फबाट हातहतियार र निशानको पूजा हुन्छ, बलि चढाइन्छ । मल्ल संस्कृति अनुरूप नागरिकहरूको तर्फबाट खास–खास केन्द्रमा खड्गजात्रा हुन्छ ।”

संस्कृतिविद् जोशी र बज्राचार्यका भनाइले हिन्दू धर्मावलम्बीको चाड दशैंले विजय ९शासक वर्गको०, विजयका लागि हातहतियार र देवी उपासनाको महत्वदर्शाउँछ ।

यद्यपि, सदियौंदेखि जातीय विभेद तथा छुवाछूत जस्तो अमानवीय व्यवहार अर्थात् ‘हार’ व्यहोरिरहेको दमाई जातिले ‘विजयादशमी’ मनाउँदै, देव–मन्दिरहरूमा पञ्चैबाजा बजाउँदै र जातका कारण मन्दिरभित्र पस्न नपाए पनि समाजका अन्य मानिसले जस्तै देवी–देवताप्रति आस्था राख्दै आएको छ ।

जेहोस्, हाम्रा पुर्खाले मनलाई बलियो बनाउन तिथि र विधि बनाएर वा विश्वास गरेर शक्तिकी देवीको उपासना गरेको पाइन्छ । विभिन्न धर्म, संस्कृति, तन्त्र–साधना पुर्खाका देन हुन् ।

हामीले पुर्खाले आर्जेको संस्कृति बचाउनुपर्छ, तर आस्थाको नाममा विभेद बचाउनु सामाजिक न्याय होइन । इतिहासमा र वर्तमानमा पनिस कसैको पराजय भएरै कसैले विजय हासिल गर्ने हो ।

आजका न्यायप्रेमी हामीले ‘विजयादशमी’ मनाउँदा सबैको विजय हुने विभेदरहित सामाजिक, आर्थिक, राजनीतिक परिपाटीतर्फ पनि सचेत हुनुपर्छ ।

साभार : हिमाल खबर

प्रतिकृया दिनुहोस्