Hamro Sanchar

७५ वर्षका ‘ट्राफिक प्रहरी’ हो हुन् ? जो सडकमै बस्छन, सडकमै खान्छन् !

प्रकाशित : २०७५/७/५ गते

सुशील नेपाल

पाल्पा, कात्तिक ५- निलो सर्टमा कालो पाइन्ट अनि कालै जुत्ता । टाउकोमा सेतो टोपी अनि कम्मरमा सेतै पेटी ।

ʻट्राफिक प्रहरीʼको पोशाकमा दिनहूँ पाल्पा सदरमुकाम तानसेनको बसपार्कमा देखिन्छन् –टोपप्रसाद श्रेष्ठ । ७५ वर्षिय उनको जोश र जाँगर भने कुनै प्रहरीको भन्दा कम छैन । टोपप्रसादको जोश जागँर आफ्नो ठाउँमा छ, उनलाई पहिलोपटक देख्नेहरु जोकोही भुक्किन्छन्, उनको पहिचानमा । ट्राफिक प्रहरीको पोशाकमा देखिने उनी ट्राफिक होइनन् । हुन त ट्राफिकको मिल्दोजुल्दो पोशाकमा नागरिकको सेवामा खटिने ʻनागरिक ट्राफिकʼ।

जिल्लामा सरुवा भएर आउने प्रहरी प्रमुख, ट्राफिक प्रमुख समेत उनको पहिचानमा झुक्किन्छन् । बाहिरबाट आएका सर्वसाधारण नझुक्किने त कुरै भएन । तर तानसेनमा उनलाई नचिन्ने कमै छन् ।

कतिले उनलाई ʻकलकत्ते दाइʼ भनेर सम्बोधन गर्छन् । बिहानदेखि साँझसम्म बसपार्कमा भेटिन उनी सवारी व्यवस्थापनमा अनवरत खटिन्छन् । यो खटाई केही दिन र वर्षको नभई २२ वर्षदेखि अनवरत छ । जीवनमा विवाह समेत नगरी विभिन्न दुःख पीडा खेप्दै ‘नागरिक ट्राफिक’ बन्न पुगेका टोपप्रसादको कथा उत्तिकै मार्मिक छ ।

को हुन टोपप्रसाद ?

स्याङजामा जन्मेका टोपप्रसादको बाल्यकाल गाउँमै वित्यो । आमाको मुख समेत देख्न नपाएका उनले अक्षर चिन्ने अवसर पनि पाएनन् । बाजेबजैको रेखदेखमा हुर्किए । १६ वर्षसम्म गाउँमै बिताए । त्यसपछि बटौलीतिर लागेर भारी बोक्ने, होटलमा भाँडा माझ्ने काम गरे । त्यसपछि भारतको आसामतिर लागे । त्यहाँ पुगेर पनि उनले उही काम अंगाले ʻहोटलमा भाँडा माझेʼ । त्यहाँ रहँदा उनले अर्को कामको पनि अनुभव संगाले ʻजंगलमा भैसी चराउनेʼ।

केही समय काम गरेपछि त्यहाँ साथिहरुसंग झगडा पर्यो अनि फर्किए आफ्नै जन्मघर । ʻत्यो बेला मसंग पैसा पनि थिएन्, निकै दुःखका साथ स्याङजा पुगेँ । नखाईनखाई रेलमा झुण्डिएर नौतुनहवासम्म आए । त्यहाँबाट हिँडेरै स्याङजा पुगेँʼ– लोकान्तरसंगको कुराकानीमा उनले आफ्नो विगतलाई सम्झिए ।

त्यहाँबाट उनी वि.स.२०२५ सालमा तानसेन आएर बसेँ । अनि तानसेनलाई नै आफ्नो कर्मथलो बनाए । सुरुमा होटलमा भाँडा माझ्ने काम गरे त पछि भारी बोक्ने । पछि सवारी व्यवस्थापनमा लागे । अहिले सवारी व्यवस्थापनमा काम गर्न थालेको पनि २२ वर्ष भयो ।

यसरी बने ʻनागरिक ट्राफिकʼ

अहिलेजस्तो थिएन त्यो बेला । जतिबेला टोपप्रसाद तानसेनमा भारी बोक्ने काम गर्थे । सवारीसाधनमा मनपरी थियो । ʻछतभरी यात्रु राख्ने, ड्राइभरले साइटमा महिला राखेर सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, यात्रुसंग मनपरी भाडा लिने गरिन्थ्यो,ʼलोकान्तरसंग उनले भने,–ʻति काम देखेर मलाई चित्त बुझेन र म छतभरी यात्रु नराख्न, चालकको छेउवा महिला राखेर अनावश्यक कुरा नगर्न, लागेको भाडा मात्र लिन आग्रह गर्न थालेँ।ʼ त्यसपश्चात उनलाई सवारीहरुले केही पैसा दिन थाले । होटल तथा स्थानीयहरुले खाना खुवाउन थाले । त्यसपछि उनको दैनिकी नै सवारी व्यवस्थापनमा बित्यो, बितेको छ ।

यसरी वित्छ दैनिकी

बसपार्कमा सवारी व्यवस्थापन त उनको दैनिकी नै भयो । नवआगन्तुकका लागि उनी पथप्रदर्शक समेत हुन् । तानसेन पुग्ने तर त्यहाँको बारेमा जानकारी नभएकाहरुलाई उनि होटलसम्मको बाटो बताइदिने, गन्तव्य बताइदिने काम गर्छन् ।

सवारीसाधनलाई यात्रुसंग बढी भाडा नलिन, टिकट दिएर मात्र भाडा लिन, मदिरा सेवन गरेर सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नचढाउन, ड्राइभरले साइटमा महिला राखेर अनावश्यक कुरा नगर्न, सवारी चलाउँदा मोवाइलको प्रयोग नगर्न, समयमा छुटेर समयमै गन्तव्यमा पुग्न उनको आग्रह रहन्छ ।

बसपार्क र सिधा बाटोमा प्रेसर हर्न नबजाउन, यात्रु चढिसकेपछि सवारीको ढोका बन्द गर्न उनी चालक तथा सहचालकलाई सुझाउँछन् । ʻसवारीको ढोका बन्द नगर्दा यात्रु ढोकाबाट खसे चालक, सहचालक जिम्मेबार हुनुपर्छ भन्दै आएको छुʼ–उनले भने ।

उनले थोरै सामानको भाडा नलिन समेत चालकलाई सुझाउने गरेका छन् ।

के भन्छन् प्रहरी प्रमुख ?

टोपप्रसाद २२ वर्षदेखि अनवरत रुपमा बिना तलब र भत्ता सेवा गर्दै आएका छन् । उनको कामले बसपार्कमा ट्राफिकलाई धेरै ठूलो सहयोग भएको पाल्पाका ट्राफिक प्रमुख डम्बर गिरी बताउँछन् । भन्छन्, ʻउहाँले एउटा नागरिकको नाताले पनि ठूलो भूमिका निर्वाह गर्नुभएको छ, अहिलेको जमानामा यसरी निःस्वार्थ भावनाले सेवा गर्ने मान्छे कमै भेटिन्छन् ।ʼ

ट्राफिक प्रमुख गिरीका अनुसार उनले सवारी, चालकका गतिविधी ट्राफिकलाई खबर गरेर पनि सहयोग गर्दै आएका छन् । ʻउहाँको सबै कामहरु राम्रो छ, सेतो टोपी नलगाइदिए कति राम्रो हुन्थ्यो,– ट्राफिक प्रमुख गिरीले भने । कामको कदर गर्दै केही दिन अगाडि मात्रै जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले टोपप्रसादलाई नगदसहित सम्मान गरेका छन् ।

बिनाबर्दीको नागरिक ट्राफिक भएर निश्वार्थ भावनाले सेवा गरेकाले सम्मान गरेको प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले लोकान्तरलाई बताए ।

भन्छन्,–ʻऔषधधिमुलो निःशुल्क छ, अरु चिन्ता छैनʼ

उनलाई केही सवारीवालाहरुले ५/१० रुपैयाँ दिन्छन् । बसपार्कको होटलमध्ये कोहीले रहेको खाना दिन्छन् । कहिलेकाँही १०/२० रुपैयाँमा केही किनेर साँझ विहानको छाक टार्छन् ।

कहिले सडकको बास त कहिले होटलको बास् । ʻएक्लो ज्यानलाई के पिर भो र? उनले भने, ʻअहिलेसम्म जसरी चल्यो अव पनि त्यसैगरी चल्ला ।ʼ तानसेनको एउटा मेडिकले उनको उपचार खर्च निःशुल्क गरिदिएको छ । भन्छन्–ʻचन्द्र मेडिकलले निःशुल्क औषधि गर्छ । त्यो हुँदासम्म म बाँचे ।ʼ

उनलाई अरुले पनि सहयोग गर्दै आएका छन् । कोहीले पैसा, कोहीले खानेकुरा त कोहीले कपडा । ʻन्यायाधीशको गार्डसंग ड्रेस मागेँ, एसपी सावले पनि कपडा दिनुभएको छ,ʼ उनले हाँस्दै भन्छन् –ʻअहिले सम्मानपछि त अझ धेरैले चिन्छन् । मेरो कामलाई सम्मान गर्दै पैसा पनि दिन्छन् ।ʼ

यसरी विनास्वार्थ नागरिकको सेवामा खटिने टोपप्रसादजस्ता व्यक्तिका लागि राज्यले पनि सहयोग गर्नुपर्ने स्थानीयहरु बताउँछन् । यो सामाग्री लोकान्तरबाट लिएका हौ ।

प्रतिकृया दिनुहोस्