Hamro Sanchar

ग्रिनकार्ड लिने नेपाली कलाकारको संख्या पाँचसय नाघ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/७/५ गते

नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको संख्या पाँचसय नाघेको छ ।

उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार संघ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन् । संघले यसबारे संकलित विवरणसहितको पुस्तक प्रकाशनको तयारी पनि गरेको छ । तीमध्ये कतिपयले अन्य कामसहित कलाकारितालाई पनि निरन्तरता दिएका छन् भने कतिपय पेशाबाट पलायन भएका छन् ।

‘सेलिब्रेटी’ कलाकारलाई त्यहाँको सरकारले ‘एक्स्ट्रा अर्डिनरी आर्टिष्ट’ को मान्यतासमेत दिने भएकाले उनीहरु उतै सम्मानित भएको अनुभव गर्छन् । कतिपय कलाकार नेपाल आउने जाने गर्छन् भने कतिपयले नेपाली नागरिकता त्यागिसकेका छन् । स्थायी आवास अनुमतिपत्र हुनेले अमेरिकामा स्थायी बसोबास र काम गर्न पाउनेछन् भने तीन वर्षपछि त्यहाँको नागरिकता लिने प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

दसैंका अवसरमा अमेरिका पुगेका वरिष्ठ संगीतकार टीका भण्डारी र कलाकारबीच न्यूयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा सामूहिक टीका तथा शुभकामना साङ्गीतिक साँझ कार्यक्रममा अध्यक्ष बुढामगरले सो जानकारी दिएको एभरेस्ट दैनिकमा खबर छ  ।

कलाकार प्रेमराजा महत, सरोज खनाल, जीवन लुइँटेल, रमित ढुंगाना, रामप्रसाद खनाल, महेन्द्र बुढाथोकी, नारायण पुरी, कृष्ण चापागाईं, अरुणिमा लम्साल, रञ्जना शर्मा, साहित्यकार ज्ञानेन्द्र गदाललगायत अमेरिकामै बस्दै आएका छन्।

अघिल्लो दशकमा केही समय उता बसेर नायिका करिष्मा मानन्धर स्वदेश फर्किएकी थिइन् । भने, नायक भुवन केसीले अमेरिकाको ‘ग्रिनकार्ड’ लिन अस्वीकार गरेका थिए। अमेरिकाको स्थायी नागरिकता लिएका कलाकार तथा सञ्चारकर्मी रवी लामिछानेले हालै अमेरिकाको नागरिकता त्यागेको घोषणा गरेका थिए । 

प्रतिकृया दिनुहोस्