Hamro Sanchar

नेकपामा जिम्मेवारी बाँडफाँड सुरु, केन्द्रीय सदस्यलाई यस्ता जिम्मेवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/७/५ गते

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँडका लागि प्रारम्भिक गृहकार्य सुरु गरेको छ । पहिलो चरणमा केही महत्वपूर्ण विभाग गठन गर्ने तथा पोलिटब्युरो सदस्यको टुंगो लगाउने तयारी छ । १२ र १३ कात्तिकमा बोलाइएको स्थायी समिति बैठकबाट यी दुई काम टुंग्याउने गरी अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा महासचिव विष्णु पौडेल गृहकार्यमा छन् ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेसम्म ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालयबाहेक अन्य संरचना बन्न सकेको छैन । प्रधानमन्त्रीसहित केही नेता सरकार र केही संसदीय समितिको सभापतिको जिम्मेवारीमा छन् । ७ प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवसहित केन्द्रीय तहका २८ नेताले नयाँ जिम्मेवारी पाएका छन् । बाँकी नेताहरूलाई कसरी जिम्मेवारी दिने भन्नेबारे उच्च तहमा आन्तरिक छलफल सुरु भएको सचिवालयका एक नेताले बताए ।

केन्द्रीय सदस्यलाई यस्ता जिम्मेवारी
अहिलेसम्म ७ प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चुनिएका छन् । त्यस्तै, ७७ जिल्ला कमिटी, ४ विशेष जिल्ला कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटीअन्तर्गत ७ प्रदेश सम्पर्क कमिटी, प्रवास, प्रतिष्ठान र जनसंगठधनको इन्चार्जमा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने तयारी छ ।

पार्टी एकीकरणको स्पिरिटअनुसार जिल्लामा पनि इन्चार्ज र सहइन्चार्जको व्यवस्था गर्ने गरी छलफल चलिरहेको सचिवालयका एक सदस्यले बताए । यस्तै, मोर्चा फाँटअन्तर्गत २२ वटा जनवर्गीय संगठनमा पनि केन्द्रीय तहका नेतालाई इन्चार्ज बनाउने तयारी छ । आवश्यकताअनुसार महानगर र संघीय निर्वाचन क्षेत्रमा समेत केन्द्रीय तहका नेतालाई नै इन्चार्ज खटाउन सकिने विकल्पमा परामर्श भइरहेको ती नेताले बताए ।

विभाग प्रमुखमा पोलिटब्युरोमाथिका नेता
नेकपाले तत्कालीन एमालेका अधिकांश केन्द्रीय विभागलाई निरन्तरता दिँदै केन्द्रीय विभागहरू बनाएको छ । यस्ता ३२ विभागमध्ये संघीय तथा संसदीय मामिला विभाग, स्थानीय तह मामिला विभाग, प्रदेश संसदीय मामिला विभाग, खानेपानी तथा सरसफाइ विभाग नयाँ छन् । ती सबै विभागमा आवश्यकताअनुसार केन्द्रीय सचिवालय, स्थायी समिति र पोलिटब्युरो सदस्यहरूमध्येबाट प्रमुखको जिम्मेवारी दिने गरी गृहकार्य भइरहेको उच्च स्रोतले जनाएको छ ।

केन्द्रीय सल्लाहकार र विभाग सदस्य कार्यदलले छान्ने
नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन सकेलगत्तै केन्द्रीय सल्लाहकार, केन्द्रीय आयोग र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने तथा केन्द्रीय विभागलाई पूर्णता दिनेछ ।

केन्द्रीय निकाय, आयोग र केन्द्रीय विभागमा रहने सदस्य सिफारिसका लागि एकीकरण कार्यदललाई जिम्मेवारी दिइएको छ । यसअनुसार सातवटै प्रदेशमा गठित एकीकरण कार्यदलहरूमध्ये अधिकांशले केन्द्रीय सल्लाहकार, केन्द्रीय निकाय, मञ्च र विभागमा रहने सदस्यहरूको नाम केन्द्रीय सचिवालयमा सिफारिस गरिसकेका छन् भने केहीले बुझाउन बाँकी छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस्