
काठमाडौं, पुस १२- अपहरणमा परेकी दुई वर्षीया बालिकालाई ३६ घण्टापछि प्रहरीले सकुशल उद्धार गरेको छ ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भएर हाल गोठाटार बस्दै आएकी दुई वर्षीया बालिका पुस १० गते गौशालाबाट अपहरणमा परेकी थिइन् ।
प्रहरीले अपहरण भएको ३६ घण्टापछि उनलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित पानीट्याङ्कबाट आज उद्धार गरेको हो ।
ती बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले रामेछाप घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोट पानीट्याङकी बस्ने ३७ वर्षीय राज नेपाललाई पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार दिउँसो पक्राउ गरेको हो।
३४ वर्षीया लक्ष्मी सुनुवार पशुपति क्षेत्रमा चिया व्यापार गर्छिन् । चिया बेच्न आउँदा उनले छोरीलाई साथमा लिएर आउने गर्थिन् ।
मंगलबार साँझ पनि छोरीलाई साथमा लिएर आएकी थिइन् । तर चिया पिउन आउने व्यक्तिले छोरीलाई उठाएर लगेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् ।
पक्राउ परेका नेपाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।


















