
काठमाडौँ, पुस ९- सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।
मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।
सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बससँग विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल ठोक्किएको हो ।
बस चालक मन्थली नगरपालिका घर भएका २४ वर्षीय रुपेश अधिकारी पक्राउ परेका छन् । भने ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् ।