जाजरकोट, मंसिर १८- भूकम्प गएलगत्तै सरकारको प्रत्यक्ष उपस्थितिले हौसिएका भूकम्पपीडितहरूले घर बनाइदिन सरकारसँग माग गरेका छन् ।
कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका घरबारविहीन पीडितले सरकारको आशा र भरोसामा बाँचेको बताएका छन् ।
उनीहरूले सरकारले जनताको घाउमा मलम लगाउन पुगेको बताउँदै अल्पकालीन र दीर्घकालीन रूपमा आवास निर्माणको काममा सहयोग गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । पूर्ण र आंशिक रूपमा क्षति पुगेका पीडितहरूले सरकारले घर बनाइदिए अरू जीविकोपार्जनका लागि गाउँघरमै ऐँचोपैँचो गरेर भए पनि व्यवस्था गर्ने बताएका छन् ।
पाँच घर क्षति भएर सरकारको राहत पर्खेर बसेका भेरी नगरपालिका–१, रिम्नाका विजय रानाले भने, “हामी स्वयंले घर बनाउन सक्दैनौँ । सरकारले राहत दिए मात्र घर बनाउन सकिन्छ ।” खेतीकिसानी गरेर जीविकोपार्जन गर्ने किसान रानाले दुःखेसो पोख्नुभयो, “सरकारले दिएको राहत र सहयोगले पुग्दैन । त्यसैले जग्गा नबेचीकन घर बनाउनका लागि सरकारले सहयोग गर्नु पर्छ ।”
यस्तै भेरी नगरपालिका–१, रावतगाउँका जसवीर दमाईले भने, “सरकारले चामल दिएको छ । पाल दिएको छ । घर बनाइदिनुपर्यो । रकम दिनेभन्दा पनि घर बनाइदिनु पर्छ ।” उनले भूकम्पलगत्तै सरकारले पठाएको हेलिकोप्टरले रावतगाउँका घाइतेहरूको उद्धार गरेर थुप्रै जनधनको क्षति कम गरेको बताए । “सरकारी निकायले राम्रो काम गरेको छ । हेलिकोप्टर पठाएर सरकारले राम्रो गरेको छ,” उनले भने ।
भेरी नगरपालिका–१, रावतगाउँका तारा नेपालीले गाँस त छिमेकी घरबाट पनि पाउन सकिन्छ तर बास के गर्ने भन्दै बस्ने बास भइदिए हुन्थ्यो भनेर स्थानीय सरकारसँग बासको माग गरिन् । यो गोरखापत्र दैनिकमा समाचार छ ।